कास्की । पर्यटकीय गन्तव्यको रुपमा चिनिएको पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अध्ययन, अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने गरी स्थापना गरिएको यस सङ्ग्रहालयमा अध्ययन, अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको हो ।
हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालय अवलोकन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको सङ्ग्रहालयका निर्देशक निर्मला न्यौपानेले बताइन् । नेपाल पर्वतारोहण सङ्घद्वारा विसं २०६० मा एक सय रोपनी क्षेत्रफलमा निर्माण गरी सञ्चालनमा ल्याइएको उक्त सङ्ग्रहालयमा हालसम्म २५ लाखभन्दा बढी पर्यटकले अध्ययन, अवलोकन गरिसकेका उनले जानकारी दिइन् ।
“पछिल्लो समय अधिकांश पर्यटकको रोजाइमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय नै पर्ने गरेको छ”, न्यौपानेले भनिन्, “गत साउनमा मात्रै १२ हजारभन्दा बढी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन् ।” उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सङ्ग्रहालयमा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या एक लाख ३७ हजार चार सय ८८ रहेकामा आव २०७९/८० मा त्यो सङ्ख्या बढेर दुई लाख पुगेको थियो । यो सङ्ग्रहालय पोखरामा पर्यटकको बसाइ लम्ब्याउन उत्तिकै महत्त्वपूर्ण बनेको उनको भनाइ थियो ।