काठमाडौं । नेपाल बालसंगठनको नाममा रहेको बालमन्दिरको जग्गा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा दिने र लिने दुवै पक्षमाथि भ्रष्टाचारमा मुद्दा चल्न सक्ने देखिएको छ।
बालमिन्दरकी तत्कालीन अध्यक्ष रिता सिंह र वृहस्पति विद्या सदनका तत्कालीन पदाधिकारीहरू पुरुषोत्तमराज जोशी, मुरारीनिधि तिवारी, प्रवीणराज जोशी, प्रज्ज्वलराज जोशी, मिनुकुमारी जोशी तथा वृहस्पति विद्या सदनको बढी स्वामित्व लिने विशाल ग्रुपका अनुज अग्रवाल, अर्पित अग्रवाल, श्रद्धा संघई लगायतमाथि समेत भ्रष्टाचार मुद्दा दायर हुन सक्ने स्रोतको दाबी छ।
यस्तो भएमा वृहस्पति विद्या सदनको शैक्षिक व्यवस्थापनमा समेत गम्भीर समस्या सिर्जना हुन सक्ने र हाल त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीको समेत बिचल्ली हुन सक्ने बताइन्छ।
अख्तियारले हाल गैरकानुनी रूपमा ५२ वर्षसम्म बालमन्दिरको जग्गा लिजमा दिने बालमन्दिरका तत्कालीन पदाधिकारीसँग बयान लिइरहेको छ। तत्कालीन अध्यक्ष रिता सिंहले भने मिर्गाैलाको डायलासिस गर्नुपर्ने बहाना बनाउँदै अख्तियारको बयानलाई छल्दै आइरहनुभएको अख्तियार स्रोतले जानकारी दिएको छ।
बालमन्दिरका पदाधिकारीसँगै बालमन्दिरको जग्गा ५२ वर्षसम्म हत्याउने योजना बनाएर सफल भएका वृहस्पति विद्या सदनका पदाधिकारी तथा त्यससँग प्रत्यक्ष जोडिएका विशाल ग्रुपका पदाधिकारीसँग समेत अख्तियारले बयान लिने तयारी गरेको स्रोतले जानकारी दियो ।
अख्तियारका अनुसार कुनै पनि सरकारी जग्गा ३० वर्षभन्दा बढी लिजमा दिन कानुनी रूपमा मिल्दैन । तर, वृहस्पति सदनले कानुनको धज्जी उडाउँदै बालमन्दिरका तत्कालीन पदाधिकारीलाई समेत आर्थिक प्रभावमा पारी बालमन्दिरको २८ रोपनी ५ आना जग्गा पूरक सम्झौताको नाममा ५२ वर्षसम्म लिजमा लिएको छ।
‘वृहस्पति विद्या सदन र बालमन्दिरका तत्कालीन पदाधिकारीको मिलेमतोमा गैरकानुनी रूपमा ५२ वर्षसम्म लिजमा दिइएको पाइएको छ, मिलेमतोमा ठूलो अनियमितता भएको प्रष्ट देखिन्छ। आजको नेपाल समाचारपत्र दैनिकबाट