ट्रम्पको फिलिपिन्स भ्रमणविरुद्ध प्रदर्शन

123 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फिलिपिन्स भ्रमण, इरान युद्ध र अमेरिकी नेतृत्वको ‘प्याक्स सिलिका’ परियोजनाको विरोधमा राजधानी मनिलामा प्रदर्शन भएको छ ।
नोभेम्बर १५ देखि १७ सम्म विभिन्न विद्यार्थी, श्रमिक तथा सामाजिक समूहले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा २११ जना पक्राउ परेको मनिला प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये २० जना नाबालिगलाई आवश्यक प्रक्रिया पूरा गरी छाडिएको थियो ।
प्रदर्शनकारीले इरान युद्धका कारण इन्धनको मूल्य बढेको र सर्वसाधारणको जीवनयापन कठिन बनेको भन्दै अमेरिकी नीतिको विरोध गरेका छन् । त्यस्तै, प्याक्स सिलिका परियोजनाका कारण तार्लाक क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदाय र किसान विस्थापित हुन सक्ने तथा वातावरणमा असर पर्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी नेतृत्वको प्याक्स सिलिका परियोजनाअन्तर्गत फिलिपिन्समा सेमिकन्डक्टर उद्योग तथा खनिज प्रशोधनसम्बन्धी औद्योगिक केन्द्र निर्माण गर्ने योजना छ । तर, सरकारले परियोजना आदिवासी समुदायको आधिकारिक पुर्ख्यौली भूमिबाहिर रहेको दाबी गर्दै आएको छ ।
यसैबीच, ४९औँ आसियान शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति ट्रम्प नोभेम्बर १७ मा मनिला पुग्ने कार्यक्रम छ । उनले नोभेम्बर १८ मा फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
ट्रम्पको भ्रमणलाई लक्षित गर्दै मनिलामा थप प्रदर्शनको तयारी गरिएको छ । जीएमए न्युजका अनुसार मंगलबारको विरोध र्‍यालीमा करिब १० हजार मानिस सहभागी हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार