इरानले वासिङ्टनमै ‘डर्टी बम’ विस्फोट गराउने योजना बनाएको अमेरिकी गुप्तचरको दाबी

1k Shares

वासिङ्टन । इरानले अमेरिकी राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक हतियार विस्फोट गराएर राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई लक्षित गर्ने योजना बनाइरहेको अमेरिकी गुप्तचर निकायले सूचना प्राप्त गरेको छ।
सीएनएनले सात जना अमेरिकी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, इरानको सम्भावित योजनाबारे अमेरिकी सुरक्षा निकायले जानकारी पाएपछि राजधानीको सुरक्षा व्यवस्था र सम्भावित आक्रमण रोक्ने उपायबारे उच्चस्तरीय छलफल सुरु गरेका छन्।
तर अमेरिकी अधिकारीहरूले यसलाई तत्काल आक्रमणको संकेतका रूपमा नभई सम्भावित विकल्प खुला राख्ने इरानको प्रयासका रूपमा लिएका छन्। अमेरिकी गुप्तचर स्रोतहरूका अनुसार इरानको योजनामा सम्भावित आक्रमणका स्थान र लक्षित व्यक्तिसमेत स्पष्ट रूपमा उल्लेख छन्। यद्यपि, इरानले उक्त योजना कार्यान्वयन गर्ने निर्णय गरिसकेको वा त्यसका लागि आवश्यक जनशक्ति परिचालन गरिसकेको प्रमाण भेटिएको छैन।
ह्वाइटहाउसकी प्रवक्ता लरेन बिसले अमेरिकाले सबै सम्भावित खतरामाथि निगरानी गरिरहेको बताएकी छन्। उनले भनिन्, ‘हामी सबै सम्भावित खतरालाई निगरानी गरिरहेका छौँ। तर अहिले अमेरिकी भूमिमा विश्वसनीय आक्रमणको खतरा छैन।’
अमेरिकी अधिकारीहरूले भने पछिल्लो गुप्तचर सूचनालाई इरानको बढ्दो आक्रामक रणनीतिको संकेतका रूपमा लिएका छन्। अमेरिकाले इरानमाथि निरन्तर सैन्य आक्रमण गरिरहेको र आर्थिक नाकाबन्दीसमेत कडा बनाइरहेको अवस्थामा तेहरानले अमेरिकी भूमिभित्रै सम्भावित आक्रमणको विकल्पबारे योजना बनाएको उनीहरूको बुझाइ छ।
एक अमेरिकी अधिकारीका अनुसार इरानसँग त्यस्तो आक्रमण गर्न आवश्यक जनशक्ति र क्षमता छ कि छैन भन्ने विषयमा अझै बहस भइरहेको छ।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यले कूटनीतिक वार्ता जारी रहे पनि त्यसमा उल्लेखनीय प्रगति हुन सकेको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले गत साता युद्ध ‘चाँडै अन्त्य हुने’ बताएका थिए। तर सम्भावित आक्रमण रोक्न अमेरिकी सुरक्षा निकायले गरिरहेको तयारीले युद्ध थप अनिश्चित र जोखिमपूर्ण बन्दै गएको देखाएको छ।
सीएनएनका अनुसार पछिल्लो एक सातामा अमेरिकी अधिकारीहरूले सम्भावित खतराको प्रतिकार कसरी गर्ने भन्ने विषयमा पटकपटक बैठक गरेका छन्। एक अधिकारीले यसलाई आवश्यक सतर्कता र पूर्वतयारीको प्रयासका रूपमा व्याख्या गरेका छन्।
यसअघि इरानबाट आएको सम्भावित खतरालाई ध्यानमा राख्दै अमेरिकी ट्रेजरीमन्त्री स्कट बेसेन्टलाई गत साता सैन्य आवासमा सारिएको थियो।
इरानले अमेरिकी अधिकारीहरूलाई लक्षित गर्ने षड्यन्त्र गरेको यो पहिलो घटना भने होइन। सीएनएनका अनुसार ट्रम्पको पहिलो कार्यकालदेखि नै इरानले वर्तमान तथा पूर्वअमेरिकी अधिकारीहरूलाई लक्षित गर्ने प्रयास गर्दै आएको छ।
सन् २०२४ मा ट्रम्पको हत्या गर्न सुपारी दिने योजनासमेत सार्वजनिक भएको थियो। यस्ता योजनाहरू मुख्यतः अमेरिकी अधिकारीहरू विदेश भ्रमणमा रहेका बेला उनीहरूलाई निशाना बनाउने प्रकृतिका थिए।
पछिल्लो गुप्तचर सूचनाले भने इरानले सम्भावित आक्रमणको दायरा अमेरिकी भूमिसम्म विस्तार गर्ने विकल्पबारे समेत सोचिरहेको हुन सक्ने देखाएको छ। तर आक्रमणको निर्णय वा त्यसलाई कार्यान्वयन गर्ने तयारी भइसकेको पुष्टि भएको छैन।
स्रोत ः सीएनएन

सम्बन्धित समाचार