काठमाडौं । रोजगारीको खोजीमा विदेशिने नेपाली युवाहरूको संख्या बढ्दै जाँदा वैदेशिक रोजगारको नाममा हुने ठगी पनि तीव्र रूपमा बढ्दै गएको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो छ महिनामै अघिल्लो वर्षको तुलनामा बढी उजुरी दर्ता भएका छन्, जसले यो क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको संकेत गर्छ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि पुस मसान्तसम्म ५ हजार ७ सय ६६ वटा उजुरी वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा दर्ता भएका छन्। जबकि गत आर्थिक वर्ष २०८१÷८२ को पुरै १२ महिनामा करिब ५ हजार उजुरी मात्र दर्ता भएका थिए। यसरी आधा वर्षमै उजुरीको संख्या अघिल्लो वर्षभन्दा बढी हुनु ठगी नियन्त्रणमा सरकार कमजोर देखिएको पुष्टि हो।
वैदेशिक रोजगार विभागका अधिकारीहरूका अनुसार पछिल्लो समय ठगीको स्वरूप परिवर्तन हुँदै गएको छ। परम्परागत दलालको सट्टा अहिले सामाजिक सञ्जालमार्फत हुने ठगी तीव्र रूपमा बढेको छ। फेसबुक, टिकटक, ह्वाट्सएप जस्ता माध्यममा आउने अनधिकृत विज्ञापनले युवाहरूलाई सजिलै आकर्षित गरिरहेको विभागको भनाइ छ।
विशेषगरी युरोपका मुलुकमा रोजगारी, छिटो भिसा, कम लागतमा विदेश पठाइदिने प्रलोभन देखाइ युवाहरूबाट लाखौँ रुपैयाँ असुल्ने क्रम बढेको अधिकारीहरू बताउँछन्। बेरोजगारीको चाप, आर्थिक अभाव र विदेश गएर छिटो आम्दानी गर्ने चाहनाले धेरै युवा सत्य–असत्य छुट्याउन नसकी ठगीमा पर्ने गरेका छन्।
विभागमा दर्ता भएका उजुरीमध्ये , ५६८ वटा उद्धार, राहत तथा समन्वय शाखामा , २ हजार ६ सय ३७ वटा प्रहरी शाखामा , २ हजार ५ सय ६१ वटा मुद्दा अनुसन्धान शाखामा परेका छन्।यसले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या केवल आर्थिक ठगीमा सीमित नरहेको, विदेशमा अलपत्र पर्ने, कागजातविहीन बन्ने र विभिन्न कानुनी समस्यामा फस्ने घटनासमेत बढिरहेको देखाउँछ।
अझ चिन्ताजनक पक्ष के छ भने, विभागमा परेका कुल उजुरीमध्ये ९०.१५ प्रतिशत व्यक्तिगत दलालविरुद्ध छन् भने ९.८५ प्रतिशत मात्र म्यानपावर कम्पनीविरुद्ध रहेका छन्। यसले अवैध रूपमा सञ्चालन भइरहेका व्यक्तिगत दलालहरूको सञ्जाल निकै सक्रिय रहेको संकेत गर्छ।
विभागमा उजुरी दिने अधिकांश पीडित युवाहरूले सामाजिक सञ्जाल वा चिनजानका व्यक्तिको विश्वासमा परेर पैसा बुझाएको बताएका छन्। धेरैजसोले म्यानपावर कम्पनी दर्ता छ कि छैन, सरकारी अनुमति लिएको छ कि छैन भन्ने विषयमा कुनै खोजबिन नगरेको पाइन्छ।कतिपय अवस्थामा रसीद नलिई नगद रकम बुझाउने, लिखित सम्झौता नगर्ने र मौखिक आश्वासनमै विश्वास गर्ने प्रवृत्तिका कारण पीडितले पछि प्रमाण प्रस्तुत गर्न नसक्दा न्याय पाउन कठिन भएको विभागको अनुभव छ।
वैदेशिक रोजगार क्षेत्र सरकारको प्रत्यक्ष नियमनअन्तर्गत पर्ने क्षेत्र हो। तर बढ्दो ठगीका घटनाले सरकारी निगरानी कमजोर रहेको देखाएको छ। सामाजिक सञ्जालमा खुलेआम अनधिकृत विज्ञापन भइरहँदा पनि प्रभावकारी अनुगमन हुन सकेको छैन।उजुरी परेपछि अनुसन्धान प्रक्रिया लामो हुने, मुद्दा टुंगिन वर्षौँ लाग्ने र दोषी ठहर भए पनि सजाय न्यून हुने भएकाले ठगहरू निरुत्साहित हुन नसकेको सरोकारवालाहरूको भनाइ छ। यसले ठगी गर्नेहरूलाई थप प्रोत्साहन मिलिरहेको उनीहरू बताउँछन्।
विशेषज्ञहरूका अनुसार वैदेशिक रोजगार क्षेत्रमा देखिएको ठगी नियन्त्रण गर्न तत्काल सुधार आवश्यक छ। सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई कडाइका साथ नियमन गर्नुपर्ने, व्यक्तिगत दलालमार्फत वैदेशिक रोजगारीको कारोबार पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्ने र वैदेशिक रोजगारसम्बन्धी मुद्दा छिटो टुंग्याउने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
यसका साथै गाउँ–गाउँमा जनचेतना अभियान सञ्चालन गरी विदेश जानुअघि अपनाउनुपर्ने कानुनी प्रक्रिया, म्यानपावरको दर्ता अवस्था र सुरक्षित वैदेशिक रोजगारका उपायबारे जानकारी दिनुपर्ने सुझाव दिइएको छ।
हालको कानुनी व्यवस्थाले ठगी गर्नेहरूलाई पर्याप्त रूपमा डर नदेखाएको भन्दै सजाय कडा बनाउनुपर्ने माग पनि बढ्दै गएको छ। ठगी रकमको दोब्बर जरिवाना, लामो समय कैद, ठगीमा संलग्न व्यक्तिलाई कालोसूचीमा राख्ने तथा ठगीबाट आर्जित सम्पत्ति जफत गर्ने व्यवस्था गर्नुपर्ने सरोकारवालाहरूको जोड छ।
वैदेशिक रोजगार नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि त्यससँग जोडिएको ठगी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसक्दा हजारौँ युवाको भविष्य जोखिममा परेको छ। तथ्यांकले देखाएको बढ्दो उजुरीले अब ढिलाइ गर्न नहुने संकेत गरेको छ।सरकार, सम्बन्धित निकाय र स्वयं नागरिक सचेत नभए वैदेशिक रोजगारको नाममा हुने ठगी अझ भयावह बन्दै जाने देखिन्छ।