मुक्तिनाथ (मुस्ताङ) । अत्याधिक चिसोका कारण सुनसान बन्दै गएको मुस्ताङमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ ।
चिसोका कारण जनजिवन प्रभावित भएपनि निर्वाचन सुरक्षाका लागि आइतबार साँझसम्म ७० जनाले आवेदन दिएका छन् ।
आवेदन दिनेमा १० प्रतिशत मुस्ताङ र बाँकी अन्य जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।
सूचना अधिकारी बस्यालले भन्नुभयो,‘‘विदाको दिनमा पनि भर्नाका लागि आउनेको आउनुभएको छ,धेरैजसो मुस्ताङमा मजदुरी गर्न आउनेहरु हुनुहुन्छ।’’
निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले जिल्लामा ३ सय १२ निर्वाचन प्रहरी भर्नाको सूचना जारी गरेको थियो ।
हालसम्म महिला ३० जना र पुरुष ४० जनाले आवेदन दिएकोमा सबै नेपाल प्रहरीतर्फ रहेका छन् । मुस्ताङमा बाहिरी जिल्लाबाट मजदुरी गर्न जानेहरूले छोटो समयका लागि निर्वाचनमा सघाउने तथा अनुभव प्राप्त भएपछि सुरक्षाको क्षेत्रमा पनि काम गर्न सकिने भएकाले भर्ना हुन लागेको बताएका छन् ।
मुस्ताङमा नेपाल प्रहरी तर्फ २६६ जना र शसस्त्र प्रहरी बल नेपालमा ४६ जना भर्नाका लागि कोटा निर्धारण गरिएको छ ।
विगतमा जिल्लामा तोकिएको निर्वाचन प्रहरी अपुग भएमा छिमेकी जिल्ला म्याग्दीबाट लगेर व्यवस्थापन गर्ने गरिएको थियो ।
निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गते सम्म आवेदन दिन पाइने समितिका सदस्य सचिव एवम् सहायक प्रमुख जिल्ला अधिकारी एकनाारायण भण्डारीले बताउनुभयो ।
नेपाल प्रहरी जोमसोम र शसस्त्र प्रहरी बल नेपाल ३३ गुल्म जोममसोमबाट भर्नाका लागि स्थान तोकिएको छ ।
निर्वाचनमा ४० दिन खटिने गरी ३४ हजार ७७६ रुपैयाँ तलबसुविधा, यातायात तथा खाजाखाना, दुर्घटना बिमा सहित भर्ना भएको २० दिनपछि कुनै मानसिक लगायतका समस्या देखिएमा काम गरे अनुसारको सुविधा पाइन्छ भने मुस्ताङमा स्थानीय भत्ताको समेत सुविधा रहेको छ ।
अन्य जिल्लाको तुलनामा मतदाता कम र राजनीतिक दल बिचको विवाद समेत नहुने भएकाले सुरक्षाका लागि मुस्ताङमा सहज हुने भएकाले छिमेकी जिल्ला म्याग्दी, डोल्पाका साथै पर्वत, बागलुङ लगायतका क्षेत्रबाट निर्वाचन प्रहरीका लागि जाने गरेका छन् ।
मुस्ताङजिल्ला थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३२८ रहेको छ ।