१०औँ राष्ट्रिय खेलकुद : १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

674 Shares

काठमाण्डाै – कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ वटा पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज सुर्खेतमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो ।

१०औँ राष्ट्रिय खेलकुद यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल सात वटा जिल्लामा सञ्चालन हुनेछन् ।

प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुनेछ । यस्तै नेपालगञ्ज, बर्दिया, सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र रुकुम पश्चिमा समान एक खेल आयोजना हुनेछ ।

उद्घाटन र समापन समारोह दुवै सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । प्रतियोगिताका केही खेल भने औपचारिक उद्घाटनअघि नै मङ्सिर ८ गतेदेखि शुरू हुनेछन् । 

प्रतियोगितामा सात प्रदेशसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र एनआरएनएको गरी ११ टोलीको सहभागिता रहनेछ । कुल ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक टोलीबाट महिला ३१४ र पुरुष ३५६ गरी ६६० जना खेलाडी सहभागी हुनेछन् । त्यस्तै प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन् ।

प्रतियोगिताका लागि २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय गरी १ हजार ३० जना निर्णायक रहनेछन् ।

राखेपले यस पटक व्यक्तिगत र टोली स्पर्धाका पदक विजेतालाई नगद पुरस्कारको व्यवस्था गरेको छ । व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेले २० हजार, रजत जित्नेले १५ हजार र कांस्य जित्नेले ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । टोली स्पर्धामा स्वर्ण विजेताले १५ हजार, रजत विजेताले १० हजार र कांस्य विजेताले ८ हजार रुपैयाँ पाउनेछन् ।

सम्बन्धित समाचार