काठमाडौँ । अब ठुला दरका भारतीय मुद्रा भारु नेपालमा चल्ने भएको छ । भारतले नेपालमा १०० भारुभन्दा माथि दरका नोटमा लगाएको प्रतिब्ध हटाएको छ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले राजपत्रमा नेपालमा प्रयोगका लागि लगाइएको प्रतिबन्ध हटाएको हो।
अब भारत सरकारले गरेको यो व्यवस्थालाई नेपाल राष्ट्र बैंकले समायोजन गरेर सूचना प्रकाशित गरेपछि नेपालमा पनि ठूला दरका भारु नोट सटही हुने भएको छ ।भारतमा अहिले २००० दरका नोटसम्म चलनचल्तीमा छ। तर, २०२३ देखि २००० दरका नयाँ नोट छापिन छाडिएको छ। त्यसैले अहिले १०० दरभन्दा माथिको अधिकतम २०० र ५०० दरका नोट चलनचल्तीमा छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ मा ५०० र हजार दरका नोट अमौद्रिकीकरण (डिमोनिटाइजेसन) गरेपछि नेपालमा १०० भारु दरका नोटमा ल्याउन र भारतमा लैजान पाइन्थ्यो। भारत सरकारले नेपालबाहेक यो सुविधा भुटानलाई पनि दिएको हो।
भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्रा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो। ऐन आउँदा भारतमा एक हजारका नोटहरु चलनचल्तीमा आएको थिएनन्। मोदी सत्तामा आएपछि ठूला दरका नोट चल्न थालेको थियो। ठूला दरका नोटको अधिकतम सीमा भने तोकिएको छ। २५ हजार भारुभन्दा बढी ल्याउन लैजान पाइने छैन।
गत कात्तिक १७ गते नेपाल राष्ट्र बैंक र आरबीआईको संयुक्त समन्वय संयन्त्र (जेटीसीसी) को नवौं बैठकमा गभर्नर डा. विश्वनाथ पौडेलले यस बारे नेपालको तर्फबाट विषयहरू राखेका थिए। गभर्नर पौडेलले भारतबाट नेपाल पैसा ल्याउन पाइने तर त्यही ठूला दरका नोट भारत लैजान नपाउने अभ्यासलाई कार्यान्वयन गर्न नसकिने बताएका थिए।
आरबीआईबाट कार्यकारी निर्देशक अर्णबकुमार चौधरी सहभागी त्यो प्राविधिक बैठकमा नेपालका गभर्नरले उठाएको विषयमा सहमत भएको एक महिनामै भारत सरकारले सीमा तोकेर ठूला दरका भारु नोट दुवैतिर चल्ने औपचारिक निर्णय गरेको हो।
सन् २०१६ ताका ठूला दरका नोट नेपालमा चल्थ्यो। त्यो व्यवस्था पनि भारतीय प्रधानमन्त्री मोदीले नै मिलाएका थिए। नेपालले १२ वर्षदेखि गरेको पहलमा मोदीले नेपाल भ्रमणमा आएका बेला सहजीकरण गर्ने आश्वासन दिएपाि अर्को वर्ष नै भारतले डिमोनिटाइजेसन ग¥यो। त्यसको असर नेपालमा पनि प¥यो। नेपालको वित्तीय प्रणालीमा रहेको करिब ४ करोड भारु अहिलेसम्म साटिा पाएको छैन।गभर्नर पौडैलले जानकारी दिए अनुसार ठूला दरका नोट भारत फिर्ता लैजान पाइने भएपछि पुरानो नोट पनि साटिने आशा बढेको छ ।अब ठूला दरका भारु ठूला नोटहरु चलेपछि भारतमा काम गर्न गएका नेपालीका साथै नेपाल आउने भारतीय पर्यटकलाई पनि सजिलो हुनेछ। ठूला दरका नोटहरु बढी तस्करी हुने भएकाले भारतीय पक्षले आन्तरिक सुरक्षाका लागि भन्दै नोटबन्दीपछि नेपालमा ठूला दरका नोट ल्याउन प्रतिबन्ध लगाएको थियो । भारतले प्रतिबन्ध लगाएपछि नेपालमा एक सय दरभन्दा कमका भारु नोटहरु मात्र चल्दै आएको थियो।