राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै आपत्ति जनाएको छ ।
अभियानले काठमाडौँको माइतीघर मण्डलामा पम्प्लेट वितरण गर्दै तिब्बती गतिविधि, दलाई लामासम्बन्धी गतिविधि तथा एक चीन नीतिविपरीतका क्रियाकलाप बढिरहेको आरोप लगाएको हो ।
अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त छुइङ डोल्माको नियुक्तिप्रति पनि विरोध जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय जेन्जी नागरिक अभियानले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितविपरीतका गतिविधि भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।
अभियानले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा पम्प्लेट वितरण गर्दै तिब्बती गतिविधि, दलाई लामासम्बन्धी गतिविधि तथा एक चीन नीतिविपरीतका क्रियाकलाप बढिरहेको आरोप लगाएको हो ।
अभियानका अजय सोडारीले नेपाललाई विदेशी हस्तक्षेपको रणभूमि बनाउने प्रयास भइरहेको आशङ्का व्यक्त गर्दै मुलुकको सार्वभौमसत्ताविपरीत कुनै पनि गतिविधि हुन नहुने बताए । दलाई लामाका प्रतिनिधिहरू काठमाडौँ आएको विषयप्रति आपत्ति जनाउँदै उनले सरकारले यस्ता गतिविधि तत्काल रोक्नुपर्ने माग गरे ।
दलाई लामासम्बन्धी गतिविधि विस्तार गरी स्वतन्त्र तिब्बतको पक्षमा माहोल बनाउने प्रयास नेपालको राष्ट्रिय हित र एक चीन नीतिविपरीत रहेको सोडारीको दाबी छ ।
यसैगरी, लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त छुइङ डोल्माको नियुक्तिप्रति पनि अभियानले विरोध जनाएको छ । डोल्माको नागरिकता तथा सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठाउँदै आएको उल्लेख गर्दै सोडारीले लामो समयदेखि विरोध भइरहे पनि सरकारले सुनुवाइ नगरेको आरोप लगाए ।
डोल्मालाई सुरक्षाकर्मीको उपस्थितिमा दलबलसहित लुम्बिनी विकास कोषमा प्रवेश गराइएको भन्दै उनले आपत्ति जनाए । उक्त विषयमा अभियानले निरन्तर आवाज उठाउनुका साथै कानुनी प्रक्रियासमेत अघि बढाउने सोडारीले बताए ।