काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि लम्ब्याइएको छ । उपत्यकाको मृत्युदर र संक्रमणदर नरोकिदा चरणबद्ध रूपमा निषेधाज्ञा लम्ब्याउनुपरेको प्रशासनले जनाएको छ ।
उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले मानिसको अत्यावश्यक आउजाउ र अत्यावश्यक सवारीबाहेक सबै बन्द गरे संक्रमण रोकथाम हुने अनुमान लगाएका थिए ।
अहिले देशका सबैजसो जिल्लामा निषेधाज्ञा छ । दोस्रो लहरको कोरोनाको रोकथामका लागि निषेधाज्ञा लगाइएको जेठ १६ गते एक महिना पुग्दैछ । पछिल्लो समय उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न पसलसमेत बन्द गरेर निषेधाज्ञामा कडाइ गर्ने निर्णय गरेका छन् ।
सक्रिय संक्रमितको संख्या लाखौँ नाघेको छ । अहिले देशभर दैनिक डेढसयभन्दा धेरै मानिसले ज्यान गुमाइरहेका छन् । दैनिक करिब आठ हजार संक्रमित थपिरहेका छन । संक्रमण र मृत्युदरमा कमी नआएपछि पटक–पटक निषेधाज्ञा थप्नुपरिरहेको प्रशासनको भनाइ छ । भलै पछिल्ला दुईदिन भने संक्रमण दरमा केही कमी आएको छ ।
निषेधाज्ञाकैबीच राष्ट्रपति कार्यालयले निषेधाज्ञामा कडाइ गर्न कडा सजयासहितका प्रावधान भएको कोरोना संक्रमण नियन्त्रणसम्बन्धी अध्यादेश पनि जारी गर्यो । अध्यादेशमा उल्लेख गरिएका प्रावधान उल्लङ्घन गरेमा पाँच लाख रुपैयाँसम्म जरिबाना र एक वर्ष कैद सजाय गर्नसक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ ।
आजदेखि एक साता लम्ब्याइएको निषेधाज्ञामा दैनिक उपभोग्य खाद्यान्नका पसल बन्द गर्ने निर्णय गरिएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय भएको पछिल्ला दुईदिनसम्म खाद्यन्न जोहो गर्नभन्दै प्रशासनले समय दिएको थियो । तर, कैयौँ विपन्न वर्गले खाद्यान्नको जोहो गर्न नसकेको बताइरहेका छन् ।
तीनओटै जिल्ला प्रशासन कार्यालयका प्रजिअले अबको एकसाता निषेधाज्ञा उल्लङघन गर्ने जोकोहीलाई पनि अध्यादेश बमोजिम कडा कारबाही गर्ने बताइरहेका छन् ।
अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन हुने भएका छन् । सरकारी कार्यालयबाट दिइने सेवा पनि स्थगित गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि अनुमान लगाएबमोजिम संक्रमण नघट्दा कडा प्रावधान अघि सार्नुपरेको बताए ।
पहिलेकोभन्दा अहिलेको भेरियन्ट बढी संक्रामक र घातक भएकाले निषेधाज्ञामा कडाइ गर्नुपरेको उनको भनाइ छ । ‘‘अहिलेको दोस्रो भेरियन्टको जोखिम बढी छ । निषेधाज्ञाको मोडालिटी पनि लचिलो छ । त्यहीमाथि निषेधाज्ञा उल्लङ्घन गर्नेहरू धेरै छन् । अब जेठ १४ गते आजदेखि २० गतेसम्म कडाइका साथ निषेधाज्ञा पालना गराइ संक्रमणदर हेरिनेछ,” उनले भने ।