नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाभित्र यात्रु बोक्ने रातो नम्बर प्लेटका इ–रिक्सा मंसिर २३ गतेदेखि गुड्न नपाउने भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवालाहरुको बैठकले रातो नम्बर प्लेटलाई कालो बनाउन मंसिर २२ गतेसम्मको समय दिने निर्णय गरेको हो।
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ–रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कार्तिक २४ गते बसेको बैठकले २१ दिने सूचना प्रकाशन गरेर रातोलाई कालो नम्बर प्लेट बनाउन दिने निर्णय गरेको थियो। उक्त अवधि मंसिर १५ गते समाप्त हुने भए पनि थप ७ दिन समय दिएर मंसिर २३ गतेदेखि भने रातो नम्बर प्लेटलाई यात्रु बोकेर गुड्न नदिने निर्णय गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए।‘समय त मंसिर १५ सम्म मात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौँ। मंसिर २३ देखि भने चल्न दिँदैनौं,’ नगर प्रमुख विष्टले भने।
अटेर गरेर रातो नम्बर प्लेटका इ–रिक्सामा यात्रु बोके त्यस्ता इरिक्सालाई जिल्ला प्रशासन कार्यालय, प्रहरी व्यायामशाला धम्बोझी र विधि विज्ञान प्रयोगशाला गणेशमान चोकमा होल्डिङ गरेर राखिनेछ। कालो नबनाउँदासम्म ती इ–रिक्सा होल्डिङ सेन्टरमै रहने नेपालगञ्ज उपमहानगरपालिका राजश्व शाखा प्रमुख वीरबहादर थापाले जानकारी दिए।यस्तै, नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बढ्दो सवारी साधनको चापलाई मध्यनजर गर्दै हाललाई त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्म चार पांग्रे सवारी साधन जान नदिने निर्णय गरिएको छ। यसैगरी गणेशमान चोकदेखि चारबाहिनी चोकतर्फको सडकलाई पनि वन–वे बनाउने निर्णय गरिएको छ।