काठमाण्डौ – पहिलो राष्ट्रिय बाली प्रजनन्, अनुवंश र बीउ विज्ञान सम्मेलन ललितपुरमा शुरु भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र बाली प्रजनन् तथा अनुवंश समाज नेपाल (पिबाग्सन)को अयोजना एवम् जिन बैंक, लिबर्ड, अक्सफामलगायतका संघसंस्थाहरुको सहआयोजनामा हिजोदेखि खुमलटारमा सम्मेलन शुरु भएको हो ।
सम्मेलनको उद्घाटन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले कृषि जैविक विविधताको संरक्षण राष्ट्रिय प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिका चुनौतीको सामना अनुवंशमा आधारित अनुसन्धानबाट मात्र गर्न सकिने हुनाले सशक्त बाली प्रजनन्को माध्यमबाट कृषि क्षेत्रको लगानी लाभदायी बनाउने उपयुक्त नीति निर्माणमा सम्मेलनबाट आउने सुझावहरू सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नार्कका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिमल्सिनाले बाली प्रजनन् र बीउ विज्ञानले नै कृषिमा परिवर्तन ल्याउन सक्ने हुनाले बजार र उपभोक्ताको माग अनुसारको अनुसन्धान आवश्यक रहेको र यस्ता अनुसन्धानमा सम्बन्धित सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले नार्कले बहुपक्षीय सहभागितामा आधारित वृहत् परियोजना सञ्चालन गर्न अग्रसर रहेको जानकारी पनि दिनुभयो ।
यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव नरेश सुवेदीले जलवायु परिवर्तन, अनुवंश संरक्षण जस्ता विश्वव्यापी साझा समस्याहरूमा सहकार्यको खाँचो रहेको र नेपालमा प्रकृति संरक्षण कोष र नार्कबीचको सहकार्य उदाहरणीय रहेको बताउनुभयो ।
पिब्याग्सनका अध्यक्ष डा. बालकृष्ण जोशीले नेपालमा अनुवंशको उपयोग जरूरी भएको र यसलाई राष्ट्रिय नीति नै बनाउनुपर्ने धारणा राख्नुभयो । सम्मेलनमा कृषि मन्त्री परियारले टप साइटेड रिसर्च पुरस्कार जीवन श्रेष्ठ, गोल्डेन सिड पुरस्कार डा. दामोदर पौडेल र बाली प्रजनन् पुरस्कार डा. राजेन्द्र दराईलाई प्रदान गर्नुभयो ।
भोलिसम्म चल्ने सम्मेलनमा ७ वटा सेसनमा ३२ वटा कार्यपत्र र ३६ वटा पोष्टर प्रदर्शनी गरिने आयोजकको तर्फबाट राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले जानकारी दिनुभयो । कृषिका विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता, प्रसारकर्ता, व्यावसायी र किसानको सहभागिता रहेको सम्मेलनमा विभिन्न संस्था र उत्पादकहरूका १८ वटा स्टल पनि राखिएका छन् ।