काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै मंसिर २ गते मंगलबार अर्थात भाइटीकाको भोलिपल्ट नेपालभर सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।
‘मंसिर २ गते किजा पूजा पर्ने भएकोले त्यस दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक विदा दिने’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
मंसिर १ गते भाइटिका छ । त्यसको भोलिपल्ट नेवाः समुदायले किजा पुजा अर्थात् भाइ पुजा मनाउने गर्छन । किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी विमिरोदेखि सबै प्रकारका फलफूल राख्ने गरिन्छ ।
त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाइदिन्छन् । त्यसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छ । त्यसपछि एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार आदि दिने चलन छ ।
नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी पूजा, म्ह पूजा, नेपाल सम्वत र किजा पूजा विशेष रुपमा मनाउँछन् ।