मानव स्वास्थ्यसँग खेलवाड

20.2k Shares

काठमाडौं । म्याद गुज्रेका हर्लिक्स, बर्नभिटालगायतका खाद्य वस्तु बजारमा पठाउने समूहलाई वाणिज्य विभागले धरौटीमा रिहा गरेको छ । पक्राउ परेकी पुष्पादेवी अग्रवालसहित ७ जनालाई रिहा गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार भारतीय नागरिक रोनक बोथ्रा भने हिरासतमा नै छन् ।
व्यापारिक समूह विशाल ग्रुपले म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्याद राखेर बेच्दै आएको भेटिएको पाइएपछि प्रहरी र विभागका अधिकारीले आठजनालाई पक्राउ गरेका थिए । विभागतको हिरासतमा रहेकी पुष्पादेवीलाई एककरोड रुपैयाँ जमानीमा हिरासतबाट रिहा गरिएको हो भने बाँकी सातजनालाई विभागमा दैनिक हाजिर हुनेगरी रिहा गरिएको सुवेदीले जानकारी दिए ।
विशाल ग्रुपले आयात गर्दै आएको ओरियो बिस्कुट, स्निकर चकलेट, बालबालिकाले खाने बर्नभिटा, आलु चिप्स जस्ता म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्याद राख्दै गरेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेको हो । अनुसन्धानको क्रममा कम्तिमा पनि २५ करोड बराबरका म्याद नाघेका खाद्यवस्तुमा नयाँ म्याद राखेको पाइएको स्रोतले जानकारी दियो । 
‘कम्तिमा पनि २५ करोड बराबरका खाद्य सामग्रीमा नयाँ लेवलिङ गरेको पाइयो,’ अनुसन्धानमा रहेका एक अधिकृतले भने, ‘त्यसअघि पनि यस्तो बदमासी भएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान हुँदैछ ।’ उनले यो कालोबजारीमात्रै नभएर मानव स्वास्थ्यसँग खेलवाड गरेको बताए । ‘पाँचवटा कोठा भएको गोदाम, अर्को तीनतलाको गोदाम फेला पारेका थियौं,’ एक प्रहरी अधिकारीले भने, ‘ट््वाइलेटमा समेत खाद्य सामग्री थुपारेको पाइयो । अहिले ती सबै गोदाम सिल गरिएको छ । यसअघि बजारमा पठाइएका सामान पनि त्यस्तै थिए कि भनेर अनुसन्धान हुँदैछ ।’

निधिको उमेदवारी चर्चाले कांग्रेसमा तरंग,तानातानको प्रयास !
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संस्थापन पक्षबाट विद्रोह गर्ने सम्भावना आंकलन गरेर सभापतिका आकांक्षी नेताहरु आ–आफ्नो तयारीमा जुटेका छन् ।
सभापति शेरबहादुर देउवाबाट पार्टी सञ्चालन हुन नसक्ने निष्कर्षका साथ आशन्न महाधिवेशनमा एकजुट भएर चुनावमा होमिने तयारीमा देखिएका आकांक्षीहरु निधिको सम्भावित विद्रोह अनुमान गरेर आ–आफ्नो तयारीमा जुटेका हुन् ।
देउवाइतर समूहमा रहेका नेताहरु निधिको उमेदवारीअघि देउवाविरुद्ध जसरी पनि एक उमेदवार बन्नुपर्ने तयारीमा थिए । तर निधिले कुनै पनि हालतमा कसैलाई नछाड्ने र आफू सभापतिको दाबेदार रहेको भन्दै छलफललाई तिव्रता दिएपछि इतरसमूहमा पनि एकभन्दा बढी उमेदवार बन्न सक्ने देखिएको कांग्रेस नेताहरु बताउँछन् ।
उपसभापति निधिले संस्थापन पक्षबाट विद्रोह गरेर उमेदवारी दिए इतर समूहमा रहेका सभापतिका आकांक्षीहरु आ–आफ्नै ढंगबाट अलग–अलग चुनावी मैदानमा उत्रिने तयारी गरिरहेका आकांक्षी निकट स्रोतहरुको भनाइ छ ।
“निधिले उमेदवारीको तयारी गरेपछि कांग्रेसमा नयाँ तरंग आएको छ । सबैले आ– आफ्नो सम्भावना देख्न थाल्नुभयो,” संस्थापन इतर समूहमा आवद्ध एक केन्द्रीय सदस्यले भने । संस्थापन क्याम्पमा विद्रोह भए वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समूह पनि फुट्ने प्रवल सम्भावना रहेको र सोहीअनुसार आकांक्षीहरु आन्तरिक तयारीमा रहेका ती नेताको दाबी छ ।
उपसभापति निधिले उमेदवारी दिए उनलाई कमजोर उमेदवारका रुपमा आंकलन गरेर पौडेल समूहका आकांक्षीहरु पनि चुनावी मैदानमा होमिने सम्भावना पछिल्लो समय बढेर गएको ती केन्द्रीय सदस्यको भनाइ छ । उपसभापति निधि आगामी महाधिवेशनमा उठे सभापति देउवाको झण्डै ३० प्रतिशत मत घट्ने अनुमान ती नेताले गरे । 
“निधि उठ्नुभयो भने ठूलो गुट फुट्छ । त्यसबाट देउवाको २५ देखि ३० प्रतिशत स्ट्रेन्थ घट्छ । त्यो अवस्थामा कोइराला पनि एक हुँदैनन्,” ती नेताले भने ।
पहिलो चरणको चुनावमा दोस्रो भएर दोस्रो चरणको निर्वाचनमा देउवासँग प्रतिष्पर्धाका लागि पौडेल समूहका आकांक्षीहरुले योजना बनाउने ती नेताको भनाइ छ । 
उनले भने, “पहिलो चरणको चुनावबाट दोस्रो हुन धेरै आकांक्षी मैदानमा आउँछन् ।”  उपसभापति निधिले सभापति पदको उमेदवारीका लागि आफ्नो क्याम्पमा विद्रोह नगरे इतर समूहमा मिलेरै अगाडि बढ्ने कसरत हुने उनको बुझाइ छ ।  “फुटेनन् भने यता मिल्ने कसरत हुन्छ, मिल्नका लागि पनि आकांक्षीहरुमा दबाब बढ्छ । फुटे मिल्ने कसरत हुँदैन । आफू–आफू लड्छन्,” संस्थापन इतर केन्द्रीय सदस्यले भने ।

संस्थापनइतर समूहमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरुले सभापति पदको उमेदवारका रुपमा आकांक्षा राख्दै आएका छन् । त्यस्तै निधिले विद्रोह गर्ने सम्भावना बढेपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि हौसिएका छन् । निधिलाई कमजोर उमेदवार आंकलन गरेर पौडेल समूहबाट एकभन्दा बढी उमेदवार चुनावी मैदानमा आए आफू पनि होमिने तयारीमा सिटौला छन् ।
उनको सचिवालयले आगामी महाधिवेशनमा कुनै एक समूहलाई सघाएर जाने सम्भावना नरहेको दाबी गरेको छ । सचिवालय स्रोतले भन्यो, “उहाँ कसैसँग पनि मिल्नुहुन्न् । न सभापतिसँग न वरिष्ठ नेतासँग । एउटा पक्षसँग मिलेर जाने कुनै सम्भावना छैन ।” नेता सिटौला आगामी महाधिवेशनमा स्वतन्त्र हैसियत राख्ने गरी अगाडि बढ्ने तयारी गरिरहेका उनी निकट एक नेताले दाबी गरे । उनले केही दिन यता फैलिएका हल्लाहरुको सोझै खण्डनसमेत गरे । 
“हामी स्वतन्त्र हैसियत राख्ने गरी अगाडि बढ्छौं । कुनै गुटलाई हाम्रो समर्थन रहँदैन,” ती नेताले भने । कांग्रेस राजनीतिक वृत्तमा निधिले विद्रोह गर्ने सम्भावना देखिएपछि सिटौला संस्थापन समूहमा भित्रिने चलेको ‘हल्ला’ पौडेल समूहको हस्ताक्षर संकलन अभियानमा संलग्न नभएपछि झनै चलेको छ । यस्तै नेता सिटौलाले उपसभापति निधिलाई भेटेको विषय पनि पछिल्लो समय चर्चामा आइरहेको छ । तर, उनी निकट केन्द्रीय सदस्य भन्छन्, “ती हल्लामात्रै हुन्, कुनैमा पनि सत्यता छैन ।”   

सम्बन्धित समाचार