“आमा मै हुँ तिम्रो”

19.1k Shares

गण्डकी/माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली साहित्यकारको जमघटका बीचमा कवयत्री सरस्वती श्रेष्ठ सरुले ‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गर्नुभएको थियो । पोखरेली साहित्यकारको साहित्यिक अभियान ‘पुछारसिटे अभियान’ पोखराद्वारा आयोजित एकल कविता वाचनको । कार्यक्रमको नाम नै थियो, ‘घ्यू, चाकु र तरुलसँग कविता’ पुछारसिटमा सरस्वती ।’

अभियानको यो एकल कविता वाचनको छैटौँ शृङ्खलामा कविता वाचकका रूपमा उहाँलाई उभ्याएको अभियानका संयोजक युवा साहित्यकार सञ्जीव पौडेलले बताउनुभयो । कार्यक्रममा कवयत्री सरुले आफ्ना रचना वाचनसँगै बीचबीचमा आफ्नो कविता लेखन यात्रा, जीवन, तत्कालीन र वर्तमान समाजको अवस्थाबारे आफ्ना अनुभव र अनुभूति प्रस्तुत गर्नुभएको थियो ।

झण्डै डेढ दर्जन बढी कविता वाचन गर्नुभएकी उहाँको

‘म’ शीर्षकको कवितामा 

“तिमी बिहानै बिहानै 

नहल्लाउनु दुबोको पात ।

ए हावा !

सुस्तरी छुनु फूलका पत्रहरूमा

सुस्तरी चाल्नू पाइलाहरू

म ढल्पलाउन सक्छु 

पोखिन सक्छु ।

नानीहरू नरुनु पुतली च्यात्तिएको दुःखमा

आमाहरू नरुनु सन्तान परदेशिएको वियोगमा

म झर्न सक्छु आँखाको डिलबाट ।

चराहरू सुस्तरी चिरबिराउनु

आवाजले झस्किएर म पोखिन सक्छु

नठोकिनू पत्थरले पनि 

मनको घडामा

म छचल्किन सक्छु 

ठोकिनै परे फूल भएर ठोकिनु ।

सुस्तरी उघार्नु ढोका

धक्का नदिनु मलाई

म आज तरल भएकी छु

शीत, आँसु या यस्तै केही भएकी छु ।” उल्लेख छ ।

कार्यक्रममा नै कवयत्री श्रेष्ठले कवि लक्ष्मी थापा र रोशन तिमिल्सिनालाई आफ्ना एक एक वटा कविता वाचन गर्न दिनुभएको थियो ।

कार्यक्रममा अभियानका सल्लाहकार लक्ष्मण थापा, विम्बकवि रमेश श्रेष्ठ दीपक समिप, प्राज्ञ हरिदेवी कोइरालालगायत पोखरेली साहित्यकारको उपस्थिति थियो । अभियानअन्तर्गत असार १५ मा दही चिउरासँग कविता र माघ १ गते घ्यूउ चाकु र तरुलसँग कविता नाममा वर्षमा दुईपटक एकल कविता वाचन कार्यक्रम सञ्चालन गर्दै आइएको छ । अभियानले ओझेलमा परेका कवि तथा साहित्यकारलाई विभिन्न कार्यक्रमका साथ प्रस्तुत गर्दै आएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार