एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

616 Shares

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको फ्रान्सको उपाधि यात्रा सेमिफाइनलमा टुङ्गिएको छ । किलिएन एमबाप्पेको कप्तानीमा रहेको र्‍याडिकल आक्रमण पङ्क्तिसहित मैदान उत्रिएको फ्रान्स स्पेनसँग स्तब्ध बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

यसअघिका नकआउट चरणमा स्वीडेन, पाराग्वे र मोरक्कोलाई सहजै पाखा लगाउँदै सेमिफाइनल पुगेको फ्रान्सको प्रदर्शन स्पेन विरुद्ध भने निकै फितलो रह्यो । खेलभरि फ्रान्सले विपक्षीको पोस्टमा तीन पटक मात्र अन टार्गेट गर्न सक्यो, जसमा ८० मिनेटसम्म एउटा पनि प्रहार हुन सकेको थिएन । लुकास डिगिनको आत्मघाती गोलका कारण प्रतियोगितामा पहिलो पटक पछि परेको फ्रान्सले लगत्तै डिफेन्डर विलियम सालिबालाई चोटका कारण गुमाउनु परेपछि थप दबाबमा परेको थियो ।

माइकल ओलिसे, ओस्मान डेम्बेले, ब्राडली बार्कोला र डेजिरे डोउ जस्ता उत्कृष्ट खेलाडीको साथ पाए पनि फ्रान्सको आक्रामक रणनीतिलाई स्पेनको मजबुत रक्षापङ्क्तिले पूर्ण रूपमा असफल बनाइदियो । बल पोजेसनमा स्पेनले खेल आफ्नो नियन्त्रणमा राख्दा फ्रान्सेली फरवार्डहरूले विङ्गर र बक्सभित्र पर्याप्त अवसर नै पाउन सकेनन् ।

यो पराजयसँगै प्रशिक्षक डिडेर डेसच्याम्प्सलाई दोस्रो पटक विश्वकप उपाधिसहित शानदार बिदाइ गर्ने फ्रान्सको सपना अधुरै बनेको छ । डेसच्याम्प्सको प्रशिक्षणमा फ्रान्सले अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

कप्तान एमबाप्पेका लागि भने तेस्रो स्थानको खेल गोल्डेन बुटको दौडमा अघि बढ्ने र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमानका लागि अवसर हुनेछ । तर, फ्रान्सले चाहेको मुख्य सुनौलो ट्रफीका लागि भने अब अर्को चार वर्ष पर्खनुपर्ने भएको छ ।

सम्बन्धित समाचार