विराटनगर । प्रदेश नम्बर एकको राजधानी विराटनगरमा तेस्रोपटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
विराट गोल्डकपको दुई रात्रिकालीन संस्करण आयोजना भएको थियो । शनिबारबाट स्थानीय सहिद मैदानमा मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता संयोजक बसन्तराज अर्यालले दिएको जानकारीअनुसार प्रदेशमै पहिलो पटक ४० वर्ष उमेर माथिका खेलाडीबीचको प्रतियोगता गर्न लागिएको छ । यसमा झापा, मोरङ, सुनसरी, र मधेस प्रदेशको लाहानका टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा विराटनगरबाट मिल्स भेट्रान क्लब, हाटखोला भेट्रान्स क्लब, र आयोजकका तर्फबाट विराट मेघा भेट्रान क्लबको ए र बी गरी कुल चारवटा टोली सहभागी हुनेछन् ।
यसैगरी झापाको दुधे भेट्रान क्लब, मोरङको डाँगीहाटबाट जहदाँ भेट्रान क्लब, सिद्राहा भेट्रान क्लब, सुनसरीबाट दुहबी भेट्रान क्लब, र मधेस प्रदेशबाट लाहान भेट्रान क्लबले भाग लिने अर्यालले बताए । प्रतियोगितामा जित्ने टिमले एकलाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ६ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । शनिबारको उद्घाटन खेल विराटनगर रानीको मिल्स भेट्रान क्लब र झापाको दुधे भेट्रान क्लबबीच हुनेछ । सबै खेल साँझ साढे ६ बजे सुरु हुने आयोजकले जानकारी दिएको छ ।