'नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भन्ने सुनियोजित हल्ला हो, भ्रममा नपरौँ'

18.6k Shares

काठमाडौं, २५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्रबारे भ्रममा पार्ने प्रयास भइरहेको बताए ।
उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहोर्‍याए । मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै बलियो बनाउन सकिने बताए ।
"नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गइराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ । त्यो हल्लामा कुनै सत्यता छैन । त्यसैले हामीले श्रीलंकाको उदाहरणबाट सचेत होऔँ । तर भ्रममा नपरौँ," उनले भने, "मुलुकको अर्थतन्त्रमा चुनौतीहरू छन् । ती चुनौतीहरूलाई हामीले सामना गर्नुपर्छ । हाम्रो अर्थतन्त्र संकटपूर्ण होइन, चुनौतीपूर्ण होइन । हाम्रो अर्थतन्त्र सवल अर्थतन्त्रको रूपमा, गतिशील अर्थतन्त्रको रूपमा, लय पक्रेको अर्थतन्त्रको रूपमा अगाडि बढन सक्दछ । हाम्रो यो अर्थतन्त्रलाई मजदुत बनाउनका निमित्त हामीले एकताका साथ दूरदृष्टि राखेर अगाडि बढयौ भने हाम्रो अर्थतन्त्र सवल हुने छ ।"
मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउनेगरी सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनुपरेको पनि बताए ।

सम्बन्धित समाचार