खेलकुदमा बिनोदले नेतृत्व गरेपछि ललितपुर तिब्र गतिमा खेलकुदमय बन्दै

24.5k Shares

ललितपुर, २४ असार । ललितपुर जिल्ला खेलकुद विकास समितिले बिनोद महर्जनको नेतृत्व पाएपछि खेलकुदले गति लिने कार्य तिब्र बन्दै गइरहेको छ ।

खेलकुद क्षेत्रलाई गति दिने क्रममा अध्यक्ष महर्जनको पहलमा ललितपुर जिल्ला खेलकुद विकास समितिले लामो समयदेखि भोलेण्टर प्रशिक्षकको रुपमा प्रशिक्षण गराई रहेका विभिन्न खेलका प्रशिक्षकहरूलाई सम्मान स्वरुप कदर पत्रसहित सम्मान गर्ने भएको हो ।

ललितपुर जिल्लालाई खेलकुदमय बनाउनका लागि अहोरात्र खटिँदै आइरहेका खेलकुद विकास समितिका अध्यक्ष महर्जनले भोलेण्टर प्रशिक्षकहरूलाई सम्मान गरी उनीहरुको मनोबल बढाउने कार्य गर्न लागिएको खोजतलासलाई जानकारी गराएका छन् ।

ललितपुरमा विभिन्न खेलका करिब २ सयभन्दा बढि भोलेण्टर प्रशिक्षक रहेका छन् । बिनासुबिधा भोलेण्टर प्रशिक्षकहरूले ललितपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष महर्जनले बताएका छन् ।

ललितपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरू धेरै छन् । ती प्रशिक्षकहरू गुमनाम भइरहेको अबस्था छ । प्रशिक्षकहरूलाई पुनः सक्रिय बनाउन लागि पुराना र नयाँ भोलेण्टर प्रशिक्षकहरूको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो ।

ललितपुर कुनै समयमा जिल्लाभरि नै खेलकुदमय थियो । बीचमा १०÷१५ वर्ष ललितपुरमा खेलकुदमा ज्ञान नभएका, खेलकुद नबुझेका गलत नेतृत्व र राजनीतिकरणका कारण ललितपुरमा खेलकुद पछि परेको अध्यक्ष महर्जनको भनाई रहेको छ ।

अध्यक्ष महर्जनले आफू अध्यक्ष भएर आइसकेपछि पुनः पुरानै अवस्थामा ललितपुर जिल्ला नै खेलकुदले चिनाउने उद्देश्यका साथ काम गर्न लागेको बताए । सम्मान कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले सम्मान गर्ने अध्यक्ष महर्जनले जानकारी गराएका छन् ।

त्यस्तै, भदौको दोस्रो हप्ता बृहत ललितपुर खेलकुद महोत्सव आयोजना गर्ने लागिएको छ । अध्यक्ष महर्जनले कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुटबल भलिबल, टेबलटेनिस, ब्याटमिन्टन, फुलकन्ट्याक्ट कराते, एथलेटिक्स लगायत १२ खेलमा प्रतिस्पर्धा हुने बताएका छन् ।

नेपाली कांग्रेसको सिफारिसमा महर्जन समितिको अध्यक्ष बनेका हुन् । उनी किकबक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन समेत हुन् । अध्यक्ष महर्जन राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष खेलकुद क्षेत्रमा बेग्लै पहिचान बनाई सकेका, थुप्रै अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादनसमेत गरेका खेलकुदका हस्ती एवम् नेपाली कांग्रेस लोकप्रिय युवा नेता मीनकृष्ण महर्जनले उत्पादन गरेका खेलाडी हुन् ।


सम्बन्धित समाचार