‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलो माहोलमा आशीर्वाद र प्रशंसा

848 Shares

काठमाडौं– नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ले दर्शकमाझ प्रेम, संगीत र रमाइलोको स्वाद पस्किने संकेत गरेको छ । चलचित्रमा समावेश ‘जाले रुमाल’ बोलको गीत सार्वजनिक भएसँगै यसको चर्चा सुरु भएको छ। लोकलयमा आधारित गीतमा युवक र युवतीबीचको प्रेमिल सवाल–जवाफलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ ।

गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर छ। दीपकप्रसाद आचार्यको शब्द रचना रहेको गीतमा बाबुल गिरीले संगीत भरेका छन् । डान्सिङ बिट र दोहोरी शैलीको मिश्रण रहेको गीतले रूप र सौन्दर्यबाट सुरु हुने आकर्षणलाई प्रेमको आधार बनाएको छ ।

गीतको भिडियोमा अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री प्रशंसा रायमाझी विवाहको माहौलमा रमाइरहेको देखिन्छन् । एकअर्काको सुन्दरताको प्रशंसा गर्दै सवाल–जवाफ गर्ने उनीहरूको प्रस्तुतिसँगै परिवारका सदस्यले विवाहमा गरेको रमाइलोले भिडियोमा थप रौनक ल्याएको छ ।

चलचित्रमा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन् । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा रहेको चलचित्रमा करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल र सुमन कार्कीलगायत कलाकारको पनि अभिनय छ ।

ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को लेखन तथा निर्देशनमा बनेको ‘चिरञ्जीवी भवः’ आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

गत वर्ष ‘परान’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेपछि निर्देशक आचार्यको नयाँ प्रोजेक्टप्रति दर्शकको चासो बढेको हो। ‘परान’को सफलतापछि दोस्रो चलचित्रमार्फत उनी कस्तो कथा र मनोरञ्जन लिएर आउँदैछन् भन्ने प्रतीक्षा भइरहेका बेला सार्वजनिक ‘जाले रुमाल’ले चलचित्रप्रति थप आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार