काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी र सरकारको कार्यशैलीप्रति सर्वसाधारण जनतामा असन्तुष्टि छ भनेर जानकारी दिँदा तत्कालीन नेतृत्वले नसुन्दा अहिलेको यो अवस्था आएको बताएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक सुरुवात गर्दै थापाले काम गर्ने तरिका ठिक नभएको टिप्पणी गर्दा नसुन्दा जेनजी आन्दोलन भएको बताएका हुन् ।
थापाले भने– ‘काम ठिक ढङ्गले सुरु भइरहेको छैन। न कामको गति मिलेको छ, न त काम गर्ने मति नै मिलेको छ। नागरिकहरूले हामीबाट अति धेरै अपेक्षा राखेका थिए, तर ती अपेक्षाहरू पूरा हुन सकेका छैनन्,’ आफूले भदौ ८ गते प्रतिनिधिसभाको बैठकमा आफूले राखेको विचारलाई नै केन्द्रीय समितिको बैठकमा पुनः दोहोर्याउँदै भने, ‘त्यो विषय तत्कालीन पार्टी र सरकारको नेतृत्वले सुनेन त्यसले अहिलेको अवस्था आयो । जेनजी आन्दोलन भएर राज्यले क्षति व्यहोर्नुपर्यो ।’ उनले पार्टीभित्र युवा पुस्ता (जेनजी) र आम नागरिकमा रहेको असन्तुष्टिलाई नेतृत्वले नजरअन्दाज गर्दा अहिलेको अवस्था आएको उनको भनाइ छ ।
‘पार्टीभित्र असन्तुष्टि बढ्दा र युवाहरूले प्रश्न उठाउँदा पहिले जनता सन्तुष्ट छन् कि छैनन् भन्ने मानक निर्वाचन हो, अहिले आशङ्का नगरौँ, भनियो,’ थापाले विगत सम्झँदै भने– ‘तर नागरिकको त्यही असन्तुष्टि निर्वाचनमा ब्याटलेमार्फत व्यक्त भयो र आज हामी प्रतिपक्षमा पुगेका छौँ । त्यो बेला हामी पनि नेतृत्वमै थियौँ, हामीले गर्न सकेनौँ। यसमा म कसैलाई मात्र दोष दिन्न, यो हाम्रो सामूहिक असफलता हो।’
नागरिकको मनोविज्ञानबारे चर्चा गर्दै थापाले देशभरका मानिसहरूमा राजनीतिप्रति अन्योल र अनिश्चितता बढेको बताए । उनले त्यसमा थप्दै भने– ‘नागरिकहरूलाई भेट्दा म उनीहरूमा ठुलो अन्योल पाउँछु। केही नागरिक हतास भएका छन् भने केहीमा ठुलो आक्रोश छ। हामीले मत दिएको पार्टीले केही गर्न सकेन भन्ने भावनाले जनतामा निराशा छाएको छ।’
नेपालको राजनीति कता जान्छ भन्ने विषयमा आम नागरिकमा अन्यौलता रहेको भन्दै उनले पार्टीले ठोस सुधारको बाटो समात्नुपर्ने बताए । कांग्रेसले जनताको यो आक्रोश र हतासलाई बेलैमा सम्बोधन नगरे भविष्यमा थप सङ्कट आउन सक्ने सभापति थापाले बताए ।