साथीद्वारा आइफोन नदिएको निहुँमा हत्या

761 Shares

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आफ्नै साथीहरूले मोबाइलको विषयमा भएको विवादपछि गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार साउन १ गते साथी असिम वनको जन्मदिन मनाउन गएका थापाको शव बिहीबार स्थानीय मनखोलामा फेला परेको थियो। घटनामा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददी परियारलाई पक्राउ गरिएको छ।
प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार जन्मदिन मनाउने क्रममा साथीहरूले रातिसम्म मदिरा सेवन गरेका थिए। घर फर्कने क्रममा लजिनसँग रहेको आइफोन मोबाइल माग्दा उनले दिन अस्वीकार गरेपछि विवाद चर्किएको र त्यसपछि कुटपिट भएको अनुसन्धानबाट खुलेको छ।
कुटपिटका क्रममा लजिन बेहोस भएपछि उनको मृत्यु भएको र घटनालाई लुकाउन शव घटनास्थलबाट करिब आधा घण्टाको दूरीमा रहेको मनखोलामा पुर्‍याएर छाडिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जन्मदिनमा सात जना सहभागी भए पनि अन्य साथी घर फर्किएपछि रेमबहादुर विक र ददी परियारले लजिनलाई पछ्याउँदै एकान्त स्थानमा लगेर आक्रमण गरेका थिए। प्रारम्भिक अनुसन्धानले उनीहरू साउन १ गते राति करिब २स्३० बजेसम्म स्थानीय दगातुम्डाँडा प्राथमिक विद्यालयमा बसेर मदिरा सेवन गरिरहेको देखाएको छ। उक्त कार्यक्रममा एक जना नौ वर्षीय बालकसमेत सहभागी रहेको प्रहरीले जनाएको छ।
लजिन सम्पर्कविहीन भएपछि प्रहरीले प्राविधिक विज्ञ, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा खोजी अभियान सञ्चालन गरेको थियो। त्यसक्रममा बिहीबार उनको शव फेला परेको हो।
प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान जारी राखेको जनाएको छ।
काठमाडौँमा अध्ययनरत लजिन केही समयअघि बिदामा घर आएका थिए। साथीको जन्मदिन मनाउन गएका उनी अन्ततः आफ्नै साथीहरूको आक्रमणमा ज्यान गुमाउन पुगे।

सम्बन्धित समाचार