काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गत भदौ २३ र २४ गतेको घटनामा संलग्न सबैलाई कारबाही गर्नुपर्ने बताएका छन्।
बुधबार बीपी जयन्तीको अवसरमा भिडिओ सन्देश जारी गर्दै सभापति थापाले दुवै दिनका घटनामा संलग्न सबैलाई कारबाही हुनुपर्ने बताएका हुन्। गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा गोली चल्दा युवाको ज्यान गएको थियो भने भोलिपल्ट संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत देशभरका सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरिएको थियो।
त्यसलाई लिएर सभापति थापाले दुवै दिनका घटनामा संलग्नलाई कारबाही हुनुपर्ने बताएका हुन्। ‘हामी हाम्रो ठाउँबाट प्रष्ट छौँ। भाद्र २३ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ। २४ मा अपराध गर्नेले पनि सजाय पाउनुपर्छ,’ थापाले भनेका छन्, ‘अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ।’
उनले गत भदौ २४ मा आफ्नो पनि घर जलेको स्मरण गरेका छन्। त्यसले नमेटिने घाउ दिएको उनले उल्लेख गरेका छन्।
‘भाद्र २४ गते मेरो घर जल्यो। मेरो परिवार झन्डै त्यही आगोमा परेको थियो। मेरो मात्र होइन, त्यो दिन धेरैको घर जल्यो। धेरै सार्वजनिक सम्पत्तिहरू क्षणभरमै जलेर नष्ट भए,’ थापाले भनेका छन्, ‘घरहरू मात्रै जलेका थिएनन्, त्यो दिनले थुप्रै परिवारलाई कहिल्यै नमेटिने घाउ पनि दिएको छ।’