गुडवील फाइनान्स डुबाउन कर्मचारीद्वारा पित्तलमा सुनको जलप लगाउँदै ऋण प्रवाह

8.8k Shares

काठमाडौं । देशभर १८ वटा शाखा रहेको गुडवील फाइनान्सका कर्मचारी र तस्करको मिलोमत्तोमा संस्था नै डुबाउने उद्देश्य राखी पित्तललाई सुनको जलप लगाएर ऋण प्रवाह गरेको समाचार छ ।
गुडवील फाइनान्स इन्द्रचोक शाखाका कर्मचारी सुन कर्जाका प्रमुख रविन्द्र शाक्य र नुवाकोट घर भई हाल ठूलो भ¥याङमा डेरा गरी बस्ने तस्कर रामशरण खतिवडाको मिलोमत्तोमा पित्तलमा सुनको जलप लगाई ऋण प्रवाह गरी आएको रकम बाँडीचुडी खाने गरेको खुलासा भएको छ ।  
तस्कर खतिवडाले आफू सुनको कारोबार गर्ने व्यवसायी हुँ भन्दै आफूले चिनेजानेका सोझासिदा व्यक्तिहरुलाई ललाई फकाई मेरो सुन राखिदिन्छु, त्यो सुन राखेवापत प्राप्त केही रकम तपाईंले चलाउनु र बाँकी रकम आफू चलाउँछु भन्दै त्यस्ता व्यक्तिहरुको नाममा गुडवील फाइनान्समा खाता खोली ऋणी बनाउँदै आएको पाइएको छ ।
तस्कर खतिवडाले स्वयम्भुमा रहेको पित्तलको तार बनाउने ठाउँमा गई तार खरिद गरी सो तारमा कलंकीको नक्कली सुनको गहना बनाउने ज्वेलर्समा गई सुनको जलप लगाई बिना बिलको सो नक्कली सुनलाई गुडवील फाइनान्सको इन्द्रचोक शाखामा लगी सुन कर्जा प्रमुख रविन्द्र शाक्यसँग सेटिङ मिलाई अमुक व्यक्तिलाई खाता खोल्न लगाई उसैको नाममा ऋण प्रवाह गर्दै आएको रकम बाँडीचुँडी खाने गरेको र ऋणी भनिएका व्यक्तिलाई १०—२० हजार रुपैयाँ दिने गरेको र सो व्यक्तिको नाममा बिलै नभएको नक्कली सुन राखे वापत पटक—पटक ऋण लिए पनि ती व्यक्तिलाई पछि रकम दिन्छु भन्दै सो रकम रामशरण र कर्मचारी रविन्द्र शाक्यले लिने गरेको पीडित रामेछापका डबलबहादुर श्रेष्ठले खोजतलासलाई जानकारी गराएका छन् ।
यसरी अमुक व्यक्तिको नाममा नक्कली सुन धितो राखी ऋण लिने डबल बहादुर त एक पात्र मात्र हुन् । यसरी डबल बहादुरलाई जस्तै सयौंलाई खाता खोल्न लगाई नक्कली सुन राखेर करोडौं ऋण लिई तस्कर रामशरण खतिवडा र सुन कर्जाका प्रमुख रविन्द्र शाक्यले बाँडीचुँडी खाई मोजमस्ती गर्दै संस्था डुबाउने कार्य गरेको पाइएको छ ।
पीडित भनिएका डबलबहादुरले आफूले चलाउँदै नचलाएको १३ लाख ४५ हजारको ऋणी भएको र नक्कली सुन भएको पत्तो पाएपछि आफूले नखाएको विष लाग्ने डरले आफूलाई ऋणबाट मुक्त गराउन सम्बन्धित निकायको ढोका ढक्ढक्याउन पुगेका थिए ।
सोही क्रममा डब्बलबहादुर श्रेष्ठले उपत्यका अपराध अनुसन्धान महाशाखा टेकुमा गई आफू ठगिएको विषयमा लिखितरुपमा जानकारी गराएपछि तस्कर रामशरण खतिवडालाई बोलाई घटनाबारे सोधपुछ गर्दा म सबै मिलाई दिन्छु भन्दै डबलबहादुरको ऋण अन्य कुनै व्यक्तिको नाममा सो ऋण सारी डबलबहादुरको खाता नै बन्द गराएका थिए ।
त्यस्तै, डबलबहादुर मात्र होइन तस्कर खतिवडाले आफ्नै ड्राइभर नविन खड्कालाई गुडवील फाइनान्स इन्द्रचोक शाखामा खाता खोल्न लगाई त्यस्तै नक्कली सुन धितो राखी ५० लाख रुपैयाँ झिकेर खतिवडा र सुन कर्जा प्रमुख रविन्द्र शाक्ले चलाएको बताएका छन् । 
ड्राइभर खड्काले आफूलाई खतिवडाले झण्डै ३—४ महिना हुँदा पनि पारिश्रमिक नै नदिई अहिले फोन नै अफ गरेर भूमिगत बसेको खोजतलासलासलाई जानकारी गराएका छन् । ड्राइभर खड्काका अनुसार तस्कर खतिवडाले म जस्तै सयौं जनालाई यस्तै नक्कली सुन धितो राख्न लगाई करोडौं रुपैयाँ सुन कर्जा प्रमुख रविन्द्र शाक्यसँगको मिलोमत्तोमा निकालेको बताएका छन् । 

सम्बन्धित समाचार