ग्यास उद्योगीलाई पाता कस्नुपर्छ ः मन्त्री यादव

645 Shares

काठमाडौं । बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज नहुने बताइन्।
उद्योगी र कर्मचारीतन्त्रको प्रभावका कारण ग्यास आपूर्ति तथा उद्योग क्षेत्र सुधारमा अपेक्षित काम गर्न नसकिएको भन्दै उनले ग्यासको आपूर्ति सहज बनाउन उद्योगीलाई कडाइ गर्नुपर्ने बताएकी हुन्।
नेपालमा आवश्यकताभन्दा बढी एलपी ग्यास उद्योग सञ्चालनमा रहेको उनको भनाई थियो। हाम्रोजस्तो देशमा दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नरहेको पनि उनले बताइन्। हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने मन्त्री यादवको भनाई छ।
ग्यास उद्योगको लाइसेन्स वितरण प्रक्रियाप्रति पनि उनले प्रश्न उठाइन्।
‘५८ वटा ग्यास उद्योग किन चाहियोरु करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ,’ उनले भनिन्,  ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन,’ मन्त्री यादवले भनिन्। हात जोडेर  ग्यासको आपूर्ति सहज बनाइदिनुस् भन्दै उद्योगीहरूलाई आग्रह गर्दा पनि समस्या समाधान नभएको उनले  बताइन्। 
मन्त्री यादवले सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै प्रशासनिक संयन्त्रमाथि कडा असन्तुष्टि जनाइन्।
‘देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थेरु’ उनले प्रश्न गरिन्।
उनले आफूले देश र जनताको हितमा काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट पर्याप्त सहयोग नपाएको गुनासो गरिन्।
‘कर्मचारीले यति दुःख दिएका छन्, म केही गर्न सक्दिनँ। यहाँभन्दा बढी गर्न सक्दिनँ भनेर सिधै जवाफ फर्काउँछन्,’ उनले भनिन्, ‘उद्योगधन्दा खोल्ने वातावरण बनाउनुपर्छ। उद्योगीको फेवरमा नियम–कानुन बनाइएको छ। धेरै चेन्ज गर्न खोजिरहेकी छु, तर गर्न सकिरहेको छैन।’

सम्बन्धित समाचार