विश्व । फिफा विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कन्सास सिटी रङ्गशालामा आज भएको खेलमा कोलम्बियाले घानालाई १ गोलले हरायो ।
उसले खेलको १४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । कोलम्बियाका जोन आरियासले गोल गरेका हुन् । कोलम्बिया समूह ‘के’ को विजेता र घाना समूह ‘एल’ बाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् ।
फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भएकोमा कोलम्बिया विजयी भयो । योसँगै विश्वकप फुटबलमा अन्तिम–१६ को समिकरण पनि पुरा भएको छ ।
अब प्रि–क्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विट्जरल्यान्ड र कोलम्बियाले खेल्ने भएका छन् ।
प्रि–क्वाटरफाइनलको पहिलो खेलमा आजराति नेपाली समयअनुसार पौने ११ बजे घरेलु टोली क्यानडा र मोरक्को तथा भोलि बिहान पौने ३ बजे पाराग्वे र फ्रान्सबीच खेल हुनेछ ।