काठमाडौं । नेपालमा टेलिग्रामबाट करोडौँ रुपैयाँ ठगी हुने गरेको पाइएको छ । म्यासेजिङ एवं अरू कार्यका निम्ति प्रयोग गरिने क्लाउडमा आधारित क्रस–प्लेटफर्म सोसल मिडिया टेलिग्रामबाट करोडौँ रुपैयाँ ठगी भएका उजुरी प्राप्त हुने गरेको प्रहरीले जनाएको छ ।
करोडौँ रुपैयाँ ठगीका उजुरी पाएसँगै प्रहरीले उक्त एपमाथि प्रतिबन्ध लगाउन सरकारलाई पत्राचार गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टेलिग्रामलाई प्रतिबन्ध गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले टेलिग्रामबाट ठगीसम्बन्धी निकै धेरै उजुरी प्राप्त हुने गरेको बताए । “टेलिग्रामबाट ठगीहरू, ठगहरू अत्यधिक मात्रामा बढेको छ । साइबर ब्युरोमा मात्रै २३ करोड रुपैयाँभन्दा बढीको टेलिग्राम प्रयोग गरेर गरिएको ठगीका उजुरीहरू छन्,” उनले बाह्रखरीसित भने । अरू निकायमा समेत यस्ता उजुरी हुन सक्ने उनको भनाइ छ ।