बारा । भारतसँग जोडिएको बाराको तेलकुवा क्षेत्र पछिल्लो समय कपडा तस्करीको प्रमुख मार्गका रूपमा प्रयोग भइरहेको स्थानीयवासीहरूको गम्भीर आरोप छ। स्थानीय स्रोतहरूका अनुसार सीमावर्ती क्षेत्र हुँदै दैनिक रूपमा मोटरसाइकल तथा अन्य साना सवारी साधन प्रयोग गरेर कपडालगायत विभिन्न सामान नेपाल भित्र्याउने कार्य भइरहेको छ। यसबाट राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको बताइन्छ।
स्थानीय स्रोतहरूले तस्करीको लाइन सञ्चालनमा संलग्न रहेको आरोप लगाउँदै सोहन, राजदेव, खेना, प्रमोद र रमेश नामका व्यक्तिहरूको नाम सार्वजनिक गरेका छन्। उनीहरूकै संलग्नतामा केही समयअघि पनि मोटरसाइकलमार्फत कपडा तस्करी भइरहेको स्थानीयवासीहरूले दाबी गरेका छन्।
सबैभन्दा गम्भीर विषय भनेको तस्करी भइरहेको सूचना सुरक्षा निकायलाई बारम्बार दिँदा समेत प्रभावकारी कारबाही नभएको आरोप हो। स्थानीय संवाददाताका अनुसार तस्करी भइरहेको जानकारी प्रहरी चौकी तेलकुवामा पुर्याइए पनि आवश्यक निगरानी र नियन्त्रणको प्रयास नदेखिएको गुनासो गरिएको छ।
स्थानीय स्रोतहरूका अनुसार प्रहरी चौकी तेलकुवाका असई शम्भु केवट महत्तोलाई तस्करीको गतिविधिबारे जानकारी गराउँदा पनि तत्काल नियन्त्रण तथा पक्राउको पहल नगरिएको दाबी गरिएको छ। यही कारणले स्थानीयवासीहरूबीच “प्रहरी प्रशासनको भूमिका शंकास्पद बनेको” चर्चा बढ्न थालेको छ।
यति मात्र होइन, तस्करीबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखलाई समेत पटक–पटक जानकारी गराइए पनि सामान नियन्त्रणमा लिने वा संलग्नमाथि अनुसन्धान अघि बढाउने काम नभएको स्थानीयहरूको आरोप छ। यसले गर्दा तस्करहरू झन् उत्साहित बन्दै गएको र अवैध कारोबार निरन्तर बढिरहेको उनीहरूको भनाइ छ।
सीमावर्ती क्षेत्रका जानकारहरूका अनुसार साना–साना खेपमा सामान भित्र्याउने प्रवृत्ति पछिल्ला वर्षहरूमा तीव्र बनेको छ। एक पटकमा थोरै सामान ल्याइने भएकाले सुरक्षा निकायको निगरानी छल्न सजिलो हुने र दिनभरि गरिने यस्ता गतिविधिबाट ठूलो परिमाणको सामान भित्रिने गरेको बताइन्छ। यस्ता गतिविधिले वैध व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई समेत प्रत्यक्ष असर पारिरहेको छ।
कानुनी प्रक्रिया पूरा गरेर भन्सार तिरेर सामान आयात गर्ने व्यापारीहरूले राज्यलाई राजस्व बुझाइरहेका बेला अवैध बाटो प्रयोग गरेर सामान भित्र्याउने समूह सक्रिय हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भएको व्यवसायीहरूको गुनासो छ। यसले सरकारको राजस्व प्रणालीमाथि मात्र होइन, वैध व्यापारिक वातावरणमाथि समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ।
स्थानीयवासीहरू भन्छन्, “यदि सूचना पाएपछि पनि सुरक्षा निकाय सक्रिय हुँदैन भने तस्करी नियन्त्रण कसरी सम्भव हुन्छ ?” उनीहरूको माग छ कि तेलकुवा नाका तथा आसपासका क्षेत्रहरूमा विशेष निगरानी टोली परिचालन गरी वास्तविक अवस्था छानबिन गरियोस्।
सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्नु प्रहरी, भन्सार प्रशासन तथा सम्बन्धित सुरक्षा निकायहरूको साझा दायित्व हो। तर सूचना प्राप्त हुँदाहुँदै पनि कारबाही नदेखिनुले विभिन्न प्रश्नहरू जन्माएको छ। आखिर तस्करहरूलाई कसको संरक्षण छ ? किन सूचना दिएपछि पनि सामान पक्राउ पर्दैन ? राज्यको राजस्वमाथि भइरहेको यो प्रहार रोक्न सम्बन्धित निकाय कहिले जाग्ने ?
यी प्रश्नहरूको जवाफ खोज्न अब सम्बन्धित निकायले निष्पक्ष अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिएको छ। अन्यथा तेलकुवा नाका हुँदै भइरहेको भनिएको तस्करीले राज्यको ढुकुटीमा भइरहेको क्षति अझै बढ्ने निश्चित छ।