नेपालगन्ज । बाँकेको ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्युतीय दुर्घटनाबारे सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँघरमा विद्युत प्रयोगका क्रममा अज्ञानता र असावधानीका कारण बढ्दो दुर्घटना जोखिमलाई ध्यानमा राख्दै आगामी मङ्सिर ७ गतेदेखि विद्यालयस्तरमा कार्यक्रम सुरु गर्न लागिएको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख इन्जिनियर जगन्नाथ लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार पर्याप्त ज्ञानको अभावले विद्युतजन्य दुर्घटना हुने गरेको पाइएकाले विद्यालयस्तरमै सञ्चालन हुने कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीलाई विद्युत जोखिम र त्यसको न्यूनिकरणका उपायबारे जानकारी प्रदान गर्नेछ ।ब
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको आयोजनामा बाँकेका आठै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि विद्यालयहरूलाई वितरण केन्द्रको समन्वयमा सम्पर्क गर्न अनुरोध गरिएको वितरण केन्द्रका लेखा अधिकृत बुद्धि सागर भुषालले बताउनुभयो ।
उहाँले सो कार्यक्रममार्फत सहभागीहरूलाई विद्युतिय सुरक्षा, सम्भावित जोखिमका कारण, दुर्घटनापछि गर्नुपर्ने प्राथमिक उपचार, उपकरणको सुरक्षित प्रयोग तथा ऊर्जा खपतका उपायबारे प्रशिक्षण दिइने बताउनुभयो ।
नो लाइट शाखाका प्रमुख विष्णु खत्रीले ग्रामीण क्षेत्रमा यस्ता सचेतनामूलक कार्यक्रमहरु एकदमै कम हुने गरेको उल्लेख गर्दै यसले विद्युत दुर्घटना घटाउन सहयोग पु¥याउने बताउनुभयो । उहाँका अनुसार, यो कार्यक्रमले विद्युत चुहावट नियन्त्रण र सम्भावित दुर्घटना न्यूनीकरणमा पनि योगदान पु¥याउनेछ ।
नेपालगन्ज वितरण केन्द्रका अनुसार, निकट भविष्यमा नरैनापुरमा विद्युत सवस्टेशन निर्माण हुने र जानकी गाउँपालिकामा १३२ केभीए प्रशारण लाइन निर्माण भइरहेकाले बाँकेका विद्यालयहरूमा सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सचेतनाकै अभावका कारण बेला बेलामा बाँके जिल्लाका ग्रामिण क्षेत्रमा बिशेष गरि विभिन्न प्रकारका बिद्युत सम्बन्धि घट्ना दुर्घटनाहरु हुने गरेका छन् ।