काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिश गरिएको छ ।
बढुवा समितिको सोमबार बसेको बैठकले उनलाई एआईजीमा सिफारिश गरेको हो । सरकारले मंसिर ३ गतेको मन्त्रिपरिषदबाट एआईजीकाे एक दरबन्दी थप गर्ने निर्णय गरेको थियो । गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहने सो समितिले साेहि दरबन्दीका लागि पोख्रेलको मात्र नाम सिफारिश गरेकाे हाे।
याेसँगै पोख्रेल २०७९ बैशाख २० देखि चैत २९ गतेसम्म प्रहरी महानिरीक्षक बन्ने निश्चित भएको छ ।एसएसपीबाटै आफ्ना ब्याचीलाई उछिन्दै अगाडी बढेका पोख्रेल एआईजीमा बढुवा भएसँगै उनी प्रहरी प्रमुख बन्न मार्गप्रशस्त भएको हो । यसअघि डीआईजीमा बढुवा हुँदा पनि पोख्रेल एकमात्र बढुवामा परेका थिए । सरकारले उनलाई २०७६ वैशाखमा डीआईजीमा बढुवा गरेको थियो ।