प्रहरीमा सरुवा बढुवाको जाम कहिले खुल्छ आईजीपी सा’प !

819 Shares

काठमाडौं । नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले संगठनमा जाम भइरहेको सरुवा बढुवाको अवरोध कहिले खुलाउँछन् भन्ने प्रहरी संगठनमा चौतर्फी चासोको विषय बनेको छ । गृहमन्त्री सुधन गुरुङ विदेशबाट फर्किने वित्तिकै सरुवा र बढुवाको फाइल अगाडि बढाउने तरखरमा आईजीपी केसी रहेको बुझिएको छ । 
सामान्यतया एक वर्षको कार्य अवधिपछि सरुवा हुनुपर्नेमा  १३—१४ महिनासम्म सरुवा र बढुवा प्रक्रिया नै रोकिँदा सोही ठाउँको कार्यभार सम्हाल्न वाध्य भइरहेका छन् प्रहरी अधिकृतहरु । यसले कार्यालय प्रमुखसहित विभिन्न जिम्मेवारीको अवसर पर्खिएका अन्य अधिकृत सरुवाबाट विमुख बन्दै आइरहेका छन् । 
तत्कालीन आईजीपी दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त भएपछि एक एआईजी पद रिक्त छ । तीन महिनादेखि २४ डीएसपीका दरबन्दी रिक्त छन् । २०६४ मा इन्स्पेक्टर भएका एक, २०७१ का चार र २०७२ मा इन्स्पेक्टर भर्ना भएका १९ अधिकृत उक्त बढुवाका दाबेदार हुन् ।
प्रहरी नेतृत्व र सरकारबीच केही समयदेखि समन्वय अभाव हुँदा महत्त्वपूर्ण मानिने सरुवा—बढुवाजस्ता काममा बाधा पुगेको थियो । तत्कालीन आईजीपी कार्कीलाई सरकारले सुरक्षा सल्लाहकार नियुक्त गर्दै डा. केसीलाई आईजीपी नियुक्त गरेपछि समन्वय सहज बनेको छ । तर, डा. केसी नियुक्त भएलगत्तै गृहमन्त्री गुरुङ वर्ल्ड पुलिस समिटमा भाग लिन दुबई गएका छन् ।
प्रहरीको एसपी दर्जासम्मको सरुवा—बढुवाको निर्णय गर्ने अधिकार आईजीपीसँग निहित छ । एसएसपीको गृह सचिवस्तर, डीआईजीको मन्त्रालयस्तर र आईजीपी—एआईजीको सरुवा—बढुवा मन्त्रिपरिषद्को निर्णयबाट हुने गर्दछ । ती विषयका निर्णय लिनुअघि विभागीय मन्त्री र मन्त्रालयसँग समन्वय तथा आवश्यक निर्देशन लिने प्रचलन छ ।
प्रहरी प्रधान कार्यालयले गत वर्ष भदौ ३१ गते ४८ एसपी र असोज २ गते ९० डीएसपीको सरुवा गरेको थियो । असोज २८ को सरुवामा कार्यक्षेत्र गएका ६५५ जना इन्स्पेक्टर अझै त्यहीँ छन् । सामान्यतया एक वर्षको कार्यअवधि तोकेर प्रहरीको सरुवा हुने गरेको छ ।

सम्बन्धित समाचार