इरानपछि लेबनानमा इजरायलको हवाई आक्रमण

9k Shares

तेलअभिभ- इजरायली सेनाले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ । हेजबोल्लाहको भूमिगत केन्द्रमा हवाई आक्रमण गरेको भन्दै इजरायली सेनाले एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ।

उक्त भिडियो एक्स (पूर्व ट्विटर) मा पोष्ट गरिएको हो । अल जजिराले यो भिडियोको पुष्टि गरेको छ । भिडियोमा एक पहाडमाथिबाट ठूलो धुँवाका मुस्लो उडिरहेको देखिन्छ । जुन इजरायली लडाकु विमानले निशाना बनाएको स्थान हो। आकाशमा विमानको आवाज सुन्न सकिन्छ ।

इजरायली सेनाका अनुसार उक्त स्थान ब्यूफोर्ट किल्ला क्षेत्रमा रहेको हेजबोल्लाहको भूमिगत नेटवर्क थियो । जसलाई ‘फायर र डिफेन्स व्यवस्थापन केन्द्र’को रूपमा प्रयोग गरिन्थ्यो। सेनाले यो स्थान अघिल्लो आक्रमणमा पनि निशाना बनाइएको जनाउँदै हेजबोल्लाहले फेरि पुनःनिर्माण गरिरहेको दाबी गरेको छ ।

इजरायली सेनाले उक्त भौतिक पूर्वाधारलाई पूर्ण रूपमा ध्वस्त गर्न यो हमला गरिएको जनाएको छ । यो आक्रमणको पुष्टि लेबनानी सञ्चार माध्यमहरूले पनि गरेका छन्। पछिल्लो केही दिनदेखि इजरायलले दक्षिणी लेबनानमा हेजबोल्लाहका भनिएका ठाँउहरूमा आक्रमण तीव्र पारेको छ। बिहीबार मात्रै इजरायली ड्रोन हमलामा दुई जनाको मृत्यु भएको थियो। सेनाले तिनीहरू हेजबोल्लाहका सदस्य रहेको दाबी गरेको छ।

नोभेम्बर २७ मा युद्धविराम सहमति भए पनि इजरायली सेनाले दक्षिणी लेबनानमा नियमित आक्रमण जारी राखेको छ। यी आक्रमणहरूले हेजबोल्लाहको क्षमतामा ठूलो क्षति पुर्‍याएको बताइएको छ।

यसैबीच लेबनानी प्रधानमन्त्री नवाफ सलामले एक्समा पोस्ट गर्दै इजरायली आक्रमणको कडा निन्दा गरेका छन्।

‘यो हाम्रो राष्ट्रिय सार्वभौमिकताको स्पष्ट उल्लंघन हो । नोभेम्बर महिनामा सहमति गरिएको युद्धविरामको व्यवस्थाको उल्लंघन पनि हो’, उनले भनेका छन्, ‘यसले हाम्रो क्षेत्रीय स्थिरतामा खतरा पुर्‍याएको छ, जुन हामी जोगाइरहन चाहन्छौं।’

सम्बन्धित समाचार