अमेरिकी राष्ट्रपति ट्रम्प र क्यानडाका प्रधानमन्त्री ट्रुडोबीच कर नीतिबारे टेलिफोन वार्ता

10.2k Shares

विश्व । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडोबीच करको विषयमा टेलिफोन कुराकानी भएको छ । क्यानडाका प्रधानमन्त्री ट्रुडोसँगको कुराकानी सकारात्मक भएको भन्दै ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

केही दिन अघिदेखि अमेरिकाले क्यानडा र मेक्सिकोबाट अमेरिका आयात हुने सामानमा २५ प्रतिशत कर लगाएको छ । त्यसको बदलामा क्यानडाले पनि अमेरिकामाथि करको घोषणा गरको  छ ।

राष्ट्रपति ट्रम्पले ट्रुडोलाई कमजोर सीमा नीतिका कारण आप्रवासी र लागूपदार्थ कारोबारको समस्या आएको र त्यसमा क्यानडाले थप बढवा दिएको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

कमजोर सीमा नीतिका कारण क्यानाडा र मेक्सिकोको सिमानामा आइरहेको फेन्टानिल पदार्थ (नशालु औषधि) का कारण धेरै मानिसको ज्यान गएको ट्रम्पको भनाइ छ । उहाँले यो अवस्थाको सुधार अझै नभएको बताउनुभएको खबरमा उल्लेख छ ।

जवाफमा प्रधानमन्त्री ट्रूडोले स्थिति पहिलेभन्दा राम्रो रहेको तर अझै सुधार आवश्यक रहेको बताउनुभएको छ ।

क्यानडामा चुनाव नजिकिए पनि ट्रुडोले यसबारे राष्ट्रपति ट्रम्पसँग कुनै कुरा नगरेको भन्दै ट्रम्पले लागूऔषध र आप्रवासीको मुद्दा सल्टाएर सत्तामा रहिरहने उहाँको चाहना हुनसक्ने आँकलन गरिएको बताउनुभएको छ । क्यानडालाई अमेरिको ५१औं राज्य बनाउने ट्रम्पको दाबीपछि दुवै देशबीच तनावको स्थिति सिर्जना भएको हो ।

सम्बन्धित समाचार