बेलकोटगढीले सञ्चालनमा ल्यायो तीन एम्बुलेन्स,अपांगता भएका र सुत्केरीलाई निःशुल्क सेवा

18.6k Shares

नुवाकोट- बेलकोटगढी नगरपालिकाले तीनवटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।नगरप्रमुख जगतबहादुर गुरुङले मंगलबार बेलकोटगढी नगरपालिका वडा नम्बर ३ को कुमारी स्वास्थ्य चौकी, बेलकोटगढी वडा नम्बर ६ दुई पिपल स्वास्थ्य चौकी र बेलकोटगढी वडा नम्बर ११ को बेलकोट स्वास्थ्य चौकीलाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष कार्यपालिका सदस्य विभिन्न शाखा प्रमुख,कर्मचारी लगायतको सहभागिता थियो।एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर गुरुङले सञ्चालनमा ल्याउन लागिएको एम्बुलेन्सले स्वास्थ्य चौकीको सिफारिसमा पूर्ण अपांगता कार्ड भएका बिरामी र सुत्केरी महिलालाई निःशुल्क सेवा उपलब्ध गराउने बताए।उनले अहिले भूगोलका हिसाबले पायक पर्ने गरी एम्बुलेन्स खरिद गरिए पनि यसलाई थप गर्दै लगिने बताए।

स्वास्थ्य सुविधा पाउनु जनताको नैर्सगिक अधिकार भएको बताउँदै उनले नगरपालिका नगरवासीहरूको यस अधिकारका लागि सधैं तत्पर रहेको बताए।नगरपालिकाले भन्सार महसुल, प्रज्ञापनपत्र शुल्कगरी कुल ५९ लाख ९८ हजार ५०० रुपैयाँमा तीनवटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।नेपालकै कान्छो नगरपालिका बेलकोटगढीमा यी एम्बुलेन्स सञ्चालनमा आएसँगै ग्रामीण भेगका नागरिकलाई निकै सहज हुने स्थानीय बताउँछन्।

सम्बन्धित समाचार