7.9k
Shares
काठमाडौँ । आगामी साउन १ गतेदेखि सवारीचालक अनुमतिपत्र छपाइ गर्न सात वटै प्रदेश सरकार तयार भएका छन् । यातायात व्यवस्था विभागले अहिलेसम्म छपाइ गर्न बाँकी सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ गर्ने र आगामी वैशाख १ देखि साउन १ गतेसम्ममा सबै प्रदेशले सवारीचालक अनुमतिपत्रको छपाइ गर्ने गरी निर्णय भएको हो ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार सातै प्रदेशका यातायात सम्बद्ध मन्त्री र सचिवसहितको विषयगत समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकमा सवारीचालक अनुमति छपाइ प्रदेशबाटै छपाइ गर्नुका साथै सवारीसाधनमा इम्बोस्ड नम्बर जडानलाई तीव्रता दिनसमेत प्रदेशका मन्त्री तथा सचिवहरूले प्रतिबद्धता जनाउनुभयो ।