बाँके । नेपालगञ्ज उपमहानगरपालिका –१ मा सुरु गरिएको मजदुर लक्षित बीमा कार्यक्रममा सहभागी भई बीमा गराएका ब्यक्तिको निधन भएपछि आश्रित परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको छ । असङ्गठित रुपमा दैनिक ज्याला र मजदुरी गरेर घर खर्च चलाउँदै आएका अभिभावकको निधन भएपछि प्राप्त बीमा रकमले परिवारलाई ठुलो सहयोग पुगेको पीडित परिवारका सदस्यहरुले जनाएका छन् ।
वडा अध्यक्ष प्रमोद रिजालका अनुसार ३११ जना वडाबासी मजदुरहरुको म्यादी जीवन बीमा गरिएकोमा दैनिक मजदुरी गर्ने हनुमान बर्मा र अरुको घरमा दैनिक काम गर्ने मुन्नी पासीको केही दिनअघि निधन भए पनि प्रतिपरिवार बीमाबापत एक लाख र क्रिया खर्चबापत २५ हजार रुपियाँ गरी एक लाख २५ हजार रुपियाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
वडा अध्यक्ष रिजालले भन्नुभयो, ‘वडामा मजदुर, लघु उद्यम तथा अन्य स–साना ब्यवसायमा जोडिएका विपन्न समुदायका ब्यक्तिलाई लक्षित गरी निःशुल्क जीवन बीमा सुरु गरिएको छ ।’ नेपालगञ्ज उपमहानगरपालिका वडा १ को कार्यालयले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी म्यादी लघुजीवन बीमा सुरु गरेको छ ।
वडाध्यक्ष प्रमोद रिजालले विपन्न समुदायका ब्यक्तिहरु आर्थिक अभावमा बीमाबाट टाढा रहेको अवस्थामा उनीहरुलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको बताउनुभयो । कार्यक्रम अन्तर्गत १८ देखि ५५ बर्ष उमेर समूहका ब्यक्तिको बीमा गरिएको छ ।
प्रिमियम बापत १८ बर्षिय ब्यक्तिको २७९ र ५५ बर्षिय ब्यक्तिका लागि एक हजार १३५ रुपियाँ बुझाउनुपर्ने हुन्छ । यो रकम वडा कार्यालयले तिरिदिने गरेको छ । यस प्रिमियममा एकलाखको बीमासँग थप एक लाखको दुर्घटना बीमा समेत हुन्छ । दुर्घटनाबापत औषधी उपचारको १० प्रतिशत र मृत्यु भएमा २५ हजार क्रिया खर्च समेत प्राप्त हुने इन्स्योरेन्सले जनाएको छ ।