काठमाडौं । गृह मन्त्रालयको पदभार सम्हाल्नेबित्तिकै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक जग्गा संरक्षणलाई उच्च प्राथमिकता राख्ने निर्णय गर्नुभएको थियो।
यस निर्णयसँगै बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान बहाल अगाडि रहेको ऐतिहासिक कमलपोखरी मासेर बनाएको छायादेवी कम्प्लेक्स विवाद छिनोफानो गर्न अग्रसरता देखाउन सक्लान् कि नसक्लान् भन्ने प्रश्न गृहमन्त्री लामिछानेतिर तेर्सिएको छ।
सो छायादेवी कम्प्लेक्सको मार्केडिङ डाइरेक्टरका रुपमा सुमनविक्रम पाण्डे रहनुभएको छ। पाण्डे गृहमन्त्री लामिछानेकै दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुनुहुन्छ। पाण्डे गत प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोट–२ बाट रास्वपाबाटै उम्मेदवार बनेर कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीसँग पराजित हुनुभएको थियो।
यस प्रकरणमा छायादेवीका मार्केटिङ डाइरेक्टरसमेत रहेका सुमनविक्रम पाण्डेले आफ्नै पार्टीको गृहमन्त्री भएकाले छानबिन प्रभावित पार्न सक्ने सम्भावनासमेत देखिएको छ।
बैंकर पाण्डेले आफ्नो आमा छायादेवीको नाउँमा सो कम्प्लेक्स बनाउनुभएको थियो। काठमाडौं महानगरपालिका–२६ स्थित गुठीको जग्गा जालसाजी गरी आफ्नो नाउँमा ल्याएर कम्प्लेक्स बनाएको भन्दै अहिले संस्कृतिप्रेमी, सम्पदाप्रेमी, अभियन्ताहरुले त्यसविरुद्धमा आवाज उठाइरहेका छन्। आजको नेपाल समाचारपत्र दैनिकबाट