कञ्चनपुर – पृथ्वीको सर्वाधिक उत्पादनशील पर्यावरणको रुपमा रहेका सिमसार क्षेत्रहरु अत्यधिक दोहन, प्रदूषण, मिचाहा प्रजातिका वनस्पतीहरुको विस्तार तथा अव्यवस्थित बसोबास तथा मानवीय क्रियाकलापले सङ्कटमा पर्दै गएका छन् ।
विभिन्न सङ्कटापन्न र लोपोन्मुख जीव तथा वनस्पतिका मुख्य आश्रयस्थलको रुपमा रहेका सिमसार क्षेत्र जोगाउन विभिन्न प्रयास भएपनि ऐन नहुँदा समस्या भएको विज्ञहरुले बताएका छन् ।
यसैबीच कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ ।
अनियन्त्रित चोरी सिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ ।
नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन) का चराविद् हिरुलाल डगौराले सीमसार क्षेत्र खुम्चिँदै जाँदा चराको बासस्थानमा असर पुगेको बताउनुभयो । उहाँका अनुसार ताल तथा सीमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको छ ।