लुम्बिनी– रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सबस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सबस्टेसन निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका इन्जिनियर जगदिशराज बरालका अनुसार महदेई सबस्टेसनका सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
परियोजनाको बाँकी काम एक वर्षभित्र पूरा हुने गरी तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए । उनले निर्माण कम्पनीसँग काम फागुन महिनामा सम्झौता भएको बताए । ‘अब केही दिनमै सकिन लागेको सो म्याद पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरा गरी सबस्टेसन सञ्चालनमा ल्याउने योजनामा हामी छौँ’, उनले भने ।
साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा केही ढिलाइ भएको बताउँदै प्राधिकरणका इन्जिनियर बरालले भने, ‘सबस्टेसन निर्माणका लागि चाहिने अधिकांश सामग्रीको व्यवस्थापन भइसकेर अहिले सबै काम तीव्र गतिमा अघि बढेको छ ।’
निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाइ भएकाले निर्माण समयमै पूरा हुन नसकेको बताए । उनले भने, ‘डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले तीव्र गतिमा काम गर्दै हालसम्म आठ सय ५० वटा विद्युत् पोलको जडानकार्य सम्पन्न गरिसकेको छ ।’