बाटो विस्तारको सुस्तताले मर्कामा होटल व्यवसाय

11.8k Shares

नवलपुर । नारायणघाट–बुटवल सडक खण्ड समयमै विस्तार हुन नसक्दा जिल्लाको पर्यटन र होटल व्यवशाय क्षेत्र नराम्रोसँग थला परेको यहाँका पर्यटन तथा होटल व्यावसायीले गुनासो गरेका छन् । बाटोका कारण यात्रा कष्टकर भएपछि पर्यटक आउन छाडेको व्यावसायीको गुनासो छ ।

‘‘क्यान्सर लागेको मान्छे छटपटिएर मरेभन्दा बढी दर्दनाक पीडा पर्यटन क्षेत्रले भोगिरहेको छ’’ जिल्ला होटल व्यावशायी सङ्घका अध्यक्ष सन्तोस राना मगरले भन्नुभयो, ‘‘बाटोका कारण हामीले सबैभन्दा बढी क्षति भोगिरहेका छौं ।’’ उहाँका अनुसार बाटो विस्तारको काम सुरु भएयता आधाभन्दा बढी होटल त बन्द भइसकेका छन् ।’

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले कोरोनापछि विस्तारै उकासिन लागेको पर्यटन व्यवसाय फेरि थला परेको बताउनुभयो । पर्यटकीय हिसाबले नवलपुर राम्रो गन्तव्य भए पनि बाटो बाधक बनेको उहाँको भनाइ छ । ‘‘हाम्रोमा आउने धेरै पर्यटक काठमाडौं, पोखरा र बुटबलबाट हो, तर यी सबैतिरबाट यहाँ आउन बाटो सहज छैन’’ अध्यक्ष महतोले भन्नुभयो, ‘‘खण्ड खण्ड गरी भत्काउँदै बनाउँदै गरेको भए यति दुःख हुने थिएन, तर सुरुमै पूरै भत्काइयो, बनाउन वर्षौं लाग्यो, यसको असर हामीले भोगिरहेका छौं ।’’ 

उहाँका अनुसार आन्तरिक पर्यटक बुटवल क्षेत्रबाट र बाह्य पर्यटक काठमाडौंबाट बढी आउने गरेका थिए । अहिले पर्यटकको सङ्ख्या आधा कम भएको महतोले बताउनुभयो । पर्यटकको रोजाइमा यहाँको जङ्गल सफारी, वन्यजन्तु अवलोकन, गाउँले परिवेश र थारू संस्कृतिक यहाँका विशेष हुन् ।

सम्बन्धित समाचार