सवारी दुर्घटनामा दुई जनाको मृत्यु

5.6k Shares

काठमाडौं, २७ जेठ। सिराहा, मिर्चैया नगरपालिका-६ जितमान टोलस्थित सडकमा मिर्चैयाबाट सोनिगढवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्याक्टरको टेलर पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा टेलरमा सवार नरहा गाउँपालिका-३ बस्ने ४५ वर्षीय महेश प्रसाद यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको फूल कुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

रौतहट, गरूडा नगरपालिका-५ महमदपुरस्थित सडक छेउमा बिग्रिएर रोकी राखेको टेलरमा प्रदेश २-०३-०२० प ७२८४ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कटहरिया नगरपालिका-१ बस्ने २३ वर्षीय संजय कुमार साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको गरूडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार