काठमाडौं । चार वर्षअघिको कुरा हो, ताहाचलस्थित शिक्षक किताबखानाका सवारीचालक सुरेश नेपालको क्वाटरमा सादा पोशाकको प्रहरी टोली पस्यो । खानतलासी गरेर हेर्दा खाटको डस्नामुनी ५२ हजार रुपैयाँ लुकाएको भेटियो । पैसा भेटिनासाथ उनले भने, ‘शाखा अधिकृत धनेश्वर प्रसाई र क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेले अह्राए अनुसार पैसा लिएर लुकाएको हुँ ।’
१५ माघ २०७७ मा घूससहित पक्राउ परेका तीन जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्यो । ३१ असार २०७९ मा विशेष अदालतले भ्रष्टाचारको आरोपबाट सफाइ दिएपछि शाखा अधिकृत धनेश्वर प्रसाई फेरि त्यही कार्यालयमा पुरानै जिम्मेवारीमा फर्किए ।
करिब चार वर्षपछि उही कार्यालयमा, उस्तै आरोपमा उसैगरी घूस खाएको आरोपमा शाखा अधिकृत प्रसाई फेरि पक्राउ परे । यसपाली उनले लिएको घूस ६ गुणाले बढेको थियो । त्यतिबेला ५२ हजार घूस खाएको आरोप खेपेका उनी गत आइतबार तीन लाख रुपैयाँ घूससहित पक्राउ परे । आरोप थियो, ‘एक शिक्षकको पेन्सनपट्टा बनाइदिन घूस मागेको ।’
अख्तियारले विशेष अदालतबाट म्याद थपेर उनलाई थुनामा राखेको छ । र, अवकाश पाउने शिक्षकसँग घूस मागेको आरोपमा उनीसहित शिक्षक किताबखानाका उच्च अधिकारीहरूमाथि पनि अनुसन्धान गरिरहेको छ । अख्तियार स्रोतका अनुसार, सम्भवतः केही दिनमा राष्ट्रिय किताबखाना (शिक्षक) का अरु उच्च अधिकृत र उपमहानिर्देशकलाई पनि बयानमा बोलाउनेछ ।
पटके आरोपित
अख्तियार र विशेष अदालतको अभिलेख हेर्दा शाखा अधिकृत प्रसाई यसअघि नै भ्रष्टाचारको आरोपमा परेका देखिन्छन् भने त्यसअघि अर्को घूस प्रकरणमा जोडिएर साक्षी बनेका थिए ।
१५ भदौ २०७६ मा ताहाचलस्थित शिक्षक किताबखानाबाट शाखा अधिकृत अर्जुन पराजुली र नासु राजेन्द्रकुमार केसी १५ हजार घूस सहित पक्राउ परे । महोत्तरीको जनता माविकी एक अस्थायी शिक्षिकाले ‘गोल्डेन हेण्डसेक’ लिई राजीनामा दिन खोजेकी थिइन् ।
प्रशासनिक प्रक्रिया र झन्झटका कारण पेन्सनपट्टा बनाउने शिक्षकहरूको काम अल्मल्याउने, अनि घूस माग्ने गुनासोपछि अख्तियारको टोलीले शिक्षक किताबखाना पुगेर निगरानी गरिरहेको थियो । त्यसैक्रममा प्रसाई रंगेहात पक्राउ परेका हुन्
किताबखानाका कर्मचारीद्वय पराजुली र केसीले उनको काम ढिलो गरिदिए र घूस मागे । शाखा अधिकृत अर्जुन पराजुलीले ती शिक्षिकासँग ‘चिठी तयार छ, चिठी लिई जाने हो भने १५ हजार दिनुस्’ भनी हाकाहाकी घूस मागेका थिए ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्यो । आफ्ना दुई सहकर्मीहरू रंगेहात घूस सहित पक्राउ परेको देखेका शाखा अधिकृत धनेश्वर प्रसाईलाई अख्तियारले साक्षी बनाएर लगेको थियो । उनले विशेष अदालतमा गएर ‘नासु राजेन्द्र केसीको र्याकबाट रकम बरामद भएको’ त बताए, साथसाथै उजुरीकर्तामाथि पनि आरोप लगाए । उनले बकपत्रमा भनेका थिए, ‘उजुरीकर्ता सेवाग्राही होइन । नियतले कार्यालयमा आए जस्तो लाग्छ ।’
आफ्ना साथीहरूले पक्राउ परेको करिब १७ महिनापछि शाखा अधिकृत धनेश्वर प्रसाई ५२ हजार रुपैयाँ सहित अरु दुई सहकर्मीहरूको साथमा पक्राउ परेका हुन् । अनिवार्य अवकाश हुँदै गरेका हेटौंडाका एक शिक्षकलाई उनले करकापमा पारेर काम रोकिदिएका थिए, अघि घूस मागेका थिए ।
हेटौडाका ती शिक्षकको सबै कागजात ठिकठाक थियो । उनले अवकाश हुँदा साढे ६ महिनाको बिरामी बिदाबापतको रकम पाउनुपर्ने थियो । ती शिक्षकले बिरामी बिदाबापत दैनिक ११ सय ६० रुपैयाँका दरले कुल २ लाख २६ हजार पाउनुपर्ने थियो । तर शाखा अधिकृत प्रसाईले बिदाको विवरण देखिने सक्कल रजिष्ट्रर (ढड्डा) नै चाहिन्छ भनी अल्मल्याउन थाले र अर्को व्यक्तिलाई भेट्न लगाए ।
९ वर्षदेखि शिक्षक किताबखानामा क्यान्टिन चलाएर बसेका सुदर्शन न्यौपानेले ती शिक्षकसँग काम बनाइदिने भए ५० हजार दिनु भनी घूस मागे । सँगै, काम गरेबापत उनलाई अलग्गै थप २ हजार दिनुपर्ने भयो । सुदर्शन न्यौपानेले भनेका थिए, ‘मेरो हातमा पैसा परेपछि तपाईंको कामको फाइल माग्न जान्छु, सही गर्नुहुन्छ, अनि मैले नै लिएर आउँछु । एक/डेढ घण्टामा काम सक्किहाल्छ ।’
पैसा दिएपछि किताबखानाका सवारीचालक सुरेश नेपालले किताबखाना परिसरभित्र रहेको आफ्नो क्वाटरको ओछ्यानमुनि ५२ हजार राखेको अवस्थामा अख्तियारको टोलीले फेला पारेको थियो । यहाँ उल्लेखित दुवै घटनामा विशेष अदालतले आरोपितहरूलाई सफाइ दियो ।

धनेश्वर प्रसाई, शिक्षक किताबखानाका कर्मचारी
रंगेहात घूसमा पक्राउ परेका व्यक्तिहरू विरुद्ध अख्तियारले उपलब्ध गराएको रकमलाई प्रमाण मान्न नसकिने भन्ने संवैधानिक इजलासको फैसलापछि विशेष अदालतले दुवै भ्रष्टाचारका घटनामा आरोपितहरूलाई सफाइ दिएको थियाे ।
शाखा अधिकृत धनेश्वर प्रसाई, शिक्षक किताबखानाका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने र सवारीचालक सुरेश नेपालविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । आफूविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकै अवस्थामा शाखा अधिकृत प्रसाई फेरि पुरानै कार्यालयमा फर्किएका थिए र त्यही कार्यरत रहँदा घूससहित पक्राउ परेका हुन् ।