कावासोती । नवलपुरको दलदलेमा देवचुली महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई प्राथमिकतामा राखी महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समृद्ध र समुन्नत नगरको उदय भन्ने मूल नाराका साथ पाँचौ देवचुली महोत्सव हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई देवचुली क्षेत्रको विशेषता बुझाउने, स्थानीय उत्पादन तथा सेवाहरू प्रवर्द्धन गर्ने, व्यवसायीलाई व्यवसाय विस्तारका लागि अवसर प्रदान गर्ने मुख्य लक्ष्य रहेको संघका संस्थापक अध्यक्ष धर्मदत्त बस्यालले बताउनुभयो ।
महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, व्यापारिक स्टल, कृषि मेला, बाल उद्यान, खेलकुद प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम लगायतका विशेष आकर्षण रहनेछन् । व्यापारिक, कृषि पर्यटन, शिक्षा, स्वास्थ गरी १५० वटा स्टल रहने देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।