काठमाडौं - मङ्सिर १६ गते हुने उपनिर्वाचनले कीर्तिपुर नगरपालिकाको राजनीतिक माहोल गर्माएको छ।
संघीय राजधानी नजिककैको नगरपालिका भएकाले कीर्तिपुरलाई दलहरूले पनि प्रतिष्ठाको विषय बनाएका छन् ।
कीर्तिपुरको मेयरका लागि दल र स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गराएका थिए । तर नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानु रिजालले माओवादी केन्द्रका शिवशरण महर्जनलाई सघाएपछि अब १९ जना मैदानमा छन् ।
१९ उम्मेदवारमध्ये मुख्य चर्चा भने यहाँ चार-पाँच उम्मेदवारको मात्रै छ । जसमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल, नेकपा एमालेका डा। सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जन, स्वतन्त्र उम्मेदवार राजमान महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुव महर्जनले चुनावी प्रचारलाई आक्रमक बनाएका छन् ।
देशभर स्वतन्त्रहरूको चर्चा भइरहेका बेला ‘केटाकेटी’ चुनाव चिह्न लिएर राजमान महर्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनलाई स्थानीय स्वतन्त्र व्यक्ति र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले पनि साथ दिएका कारण उनको पनि मदातामाझ चर्चा छ ।