ढुक्क भएर मतदान गर्न प्रदेश प्रमुख थपलियाको आग्रह

3.4k Shares

जनकपुर । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले धनुसाले जनाएको छ 
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।
उनका अनुसार निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । प्रत्येक मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने आवश्यक परेमा पाँचदेखि सात मिनेटभित्र थप सुरक्षा टोली पुग्ने संयन्त्र तयार अवस्थामा राखिएको छ ।
मतदानस्थल निर्माण, मतपेटिका व्यवस्थापन तथा मतदान अधिकृतसहित कर्मचारीहरू सम्बन्धित केन्द्रमा पुगिसकेको जनाएको छ ।
धनुषामा प्रतिनिधिसभा सदस्यका लागि चार निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाभर ३२२ मतदानस्थल अन्तर्गत ६४५ मतदान केन्द्र कायम गरिएको छ । तीमध्ये १९४ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।
निर्वाचन सम्पन्न गर्न तीन हजार ८ सय ७५ कर्मचारी परिचालन गरिएको छ भने चार हजार ५ सय जना निर्वाचन प्रहरी छनोट भइसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा कुल १५४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसैबीच मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलियाले शान्ति सुरक्षामा कुनै कमजोरी हुन नदिने स्पष्ट पार्दै समग्र सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको बताएका छन् ।
प्रशासन र सुरक्षा निकायको सक्रिय तयारीबीच धनुषामा भोलिको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार