महाधिवेशन सर्ने निश्चित, पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्य र जिल्ला सभापतिको भेला

14.8k Shares

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला सुरु भएको छ । कांग्रेस नेतृत्वको अकर्मन्यताले पार्टी अवैधानिक बाटोमा पुग्न लागेको भन्दै पौडेल पक्षका जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरु काठमाडौंमा भेला भएका हुन् । 
“नेपाली कांग्रेस विधिमा चल्ने पार्टी हो, आवधिक निर्वाचन कांग्रेस र लोकतन्त्रको प्राण हो,” नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले भने, “कांग्रेस पार्टीको विधानअनुसार महाधिवेशन गर्न नसकेर संविधानको साहरामा पाएको थप छ महिनाको सुविधा पनि गुम्न लागेपछि पार्टीको ध्यानाकर्षण गराउन लागेको हौँ ।” 
उनले पार्टी नेतृत्वसँगै जिल्ला नेतृत्व पनि अवैधानिक हुन लागेको भन्दै बैधानिकतामा प्रश्न नउठ्ने गरी अघि बढ्न आग्रह गर्ने बताएका छन् । 
काठमाडौं कांग्रेसका सभापति कृष्ण बानियाँ (सबुज)ले काठमाडौंमा उपलब्ध सभापतिहरु छलफलमा बसेको भन्दै यसलाई सभापतिको भेलाका रुपमा नअर्थ्याउन आग्रह गरेका छन् । बैठकमा ३४ जिल्ला सभापति सहभागी भएका र केही बाटोमा आउने क्रममा रहेको बताइएको छ । 
पार्टी सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद समाधान गर्न नचाहेको, प्रधानमन्त्री भएपछि व्यस्तता बढेसँगै सदस्यता विवाद समाधानमा समय नदिएको र महाधिवेशन टार्ने रणनीतिमा लागेको भन्दै पौडेलले नियमित महाधिवेशन नभए विशेष महाधिवेशनबाट वैधानिकता बचाउने प्रस्ताव गरेका छन् । 
त्यो प्रस्तावमा अर्जुननरसिंह केसीसहितका नेता सहमत भए पनि महामन्त्री डा. शशांक कोइरालाले महाधिवेशन भदौभित्र नहुने घोषणा गरिसकेका छन् । त्यही कारण सभापति भेलामा ३४ जना मात्र जिल्ला सभापति सहभागी भएको बुझिएको छ ।

सम्बन्धित समाचार