१९२ को मृत्यु, संकटमै ‘सम्पर्कविहीन’ सरकार

14.2k Shares

काठमाडौँ - विपद् आइपरेपछि राहत र उद्धारमा चुकेको सरकारले आफूमातहतका कर्मचारीलाई फेला पार्न सकेको छैन। शुक्रबार रातिदेखि शनिबार दिनभरको अविरल वर्षाका कारण देशले ठुलो क्षति बेहोरिरहँदा सरकारले आफूमातहतका कर्मचारी फेला पार्न नसकेको हो।

ललितपुर र धादिङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूले गृह मन्त्रालयसँग समन्वय नगर्दा र आफ्नो कार्यक्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्न नसक्दा ठुलो क्षति भएको जनाइएको छ। ललितपुरका प्रजिअ तुलसी श्रेष्ठ र धादिङका प्रजिअ राजेन्द्रदेव पाण्डे शनिबार दिनभर नै बेखर देखिए। काभ्रेमा प्रजिअ सूर्य सेढाईं क्यान्सरले थलिएका छन्। उनी एक महिनाभन्दा बढी समयदेखि बिदामा रहेकाले उनको स्थानमा सहायक प्रजिअ सुवास पौडेलले काम चलाइरहेका थिए। तर आइतबार साँझ बल्ल उमेश ढकाललाई पठाइएको छ। सिन्धुलीका प्रजिअ लीला शर्मा विपद्मा पनि बेखबरजस्तै छन्। ‘ठुलो विपत्ति पर्‍यो, जुम बैठकमा सल्लाह गरौं न भनेर बाग्मती प्रदेशले राखेको बैठकमा उनी गृहमा सल्लाह गर्नुपर्छ भनेर उम्किएका थिए,’ मन्त्रालयका एक कर्मचारीले भने।

आइतबार बिहान गृह मन्त्रालयमा महाशाखा प्रमुखहरूको विशेष बैठक बसेको थियो। सो बैठकले ललितपुर, धादिङ र सिन्धुलीका प्रजिअको कार्यक्षमतमाथि प्रश्न उठाएको छ। ‘आफ्नो जिल्लामा के भएको छ भनेर थाहा नपाउने पनि प्रजिअ हुन्छ। ललितपुर र धादिङमा त्यही भयो,’ गृह मन्त्रालयका एक सहसचिवले भने, ‘असोज ८ बाटै सरकारले सचेत गराएको विषयमा सम्बन्धित जिल्लाका प्रजिअहरू कडाइसाथ किन उत्रिएनन् ? यो विषयमा छानबिन गरौं भनिएको छ।’

ती कर्मचारीका अनुसार काभ्रेमा सहायक प्रजिअको भूमिका प्रशंसा गर्न लायक छ तर प्रजिअले गर्ने सबै काम गर्न नसक्ने भएकाले प्रजिअकै अभाव खट्किएको छ। ‘गृहमन्त्रीलाई धेरै पटक भनियो, काभ्रेमा प्रजिअ खाली छ, त्यो जिल्ला संवेदनशील हो भनेर। तर उहाँले चासो दिनुभएन,’ मन्त्रालयका ती कर्मचारीको दाबी छ।

धादिङका प्रजिअ पाण्डे केही महिनाअघि सिरहामा तस्करसँग मिलेको आरोपमा तानिएका थिए। उनलाई गृहमन्त्री रमेश लेखकले धादिङको प्रजिअ बनाएर पठाएका हुन्। त्यसैगरी रुद्रप्रसाद पण्डितलाई बालकुमारी घटनापछि मन्त्रालय तानेपछि श्रेष्ठलाई ललितपुर पठाइएको थियो। प्रजिअको जिम्मेवारी के हो भन्ने थाहा नपाएका लीला शर्मालाई सिन्धुली पठाइएको भन्दै मन्त्री लेखकको आलोचना भएको छ।

वर्षा हुनुपूर्व सरकारले लामो दुरीको यात्रा नगर्नू, रात्रिबस सञ्चालन नगर्नू, सबै सचेत रहनू भनेको थियो तर स्थानीय प्रशासन, स्थानीय तहले यसलाई प्रभावकारी रूपमा सूचान प्रवाह गर्न नसकेको मन्त्रालयको निष्कर्ष छ। उद्धार र विपद्को तयारीमा सरकारको कमजोरी काठमाडौं र ललितपुर घटनाले उजागर गरेपछि आइतबार बिहान गृहका महाशाखा प्रमुखहरूले गम्भीर समीक्षा गरेका हुन्।

‘सबै सुविधा तत्काल उपलब्ध हुन सक्ने ललितपुर उपमहानगरपालिकाभित्र पर्ने नक्खु खोलाको बाढीमा फसेका चार जनाको उद्धार समयमै हुन सकेन। त्यसको जिम्मेवारी ललितपुर जिल्ला प्रशासन कार्यालयले लिनुपर्छ। आफ्नो जिल्लाको अवस्था र परिस्थितिबारे जानकारी हुँदैन भने प्रजिअ भएर बस्नुको औचित्य छैन,’ मन्त्रालयका ती सहसचिवको भनाइ छ।

शनिबार बिहानैदेखि ललितपुरको नक्खु खोलाकिनारामा भएको घटनाबारे प्रजिअले गृहमा खबर नै गरेका थिएनन्। तर शनिबार बिहानैदेखि टिनको छानामाथि चार जना बसेको भिडियो सामाजिक सञ्जालमा आएको थियो। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार