विराटनगरमा टेन्टकै इजलासबाट दश वटा मुद्दा फर्छ्याेट

6.5k Shares

विराटनगर । गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवन आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एक अर्ब बराबरको क्षति पुग्यो। 

भौतिक संरचना र जिन्सी जल्दा आर्थिक क्षति भयो भने कागजात जल्दा प्रशासनिक क्षतिको कुनै मानक नै बनेको छैन । अहिलेसम्म महानगरपालिकामा दैनिक कार्य सम्पादन लयमा फर्कन सकेको छैन । घरनक्सा शाखा कागजातविहीन हुँदा लयमा फर्कन हम्बे परिरहेको छ । सहरी विकास तथा पूर्वाधार महाशाखाले पनि बहुवर्षे ठेक्का प्रणाली र भुक्तानी दिन बाँकी रहेका योजनाको कागजात जुटाउन समस्या परिरहेको गुनासो कर्मचारी गर्दछन् । 

तर महानगरपालिकामा आगजनी हुँदा स्थानीय न्यायिक समितिको इजलास समेत जलेर ध्वस्त भयो । प्रशासनिक भवनको तेस्रो तलाको न्यायिक इजलास जलेपछि विकल्पमा टेन्टमा सारियो । 

टेन्टमा स्थापना गरिएको न्यायिक समिति, इजलास र कानुन शाखाबाट समेत नागरिकका मुद्दा मामिला र गुनासो सुनुवाईले भने निरन्तरता पायो । गत भदौ २४ गतेपछि विराटनगर महानगरपालिकामा न्यायिक समितिमा जम्मा २६ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ११ वटा मुद्दा टेन्टको कार्यालयमै दर्ता भएका थिए । महानगरपालिका कानुन शाखाको तथ्यांक अनुसार जसमा पाँचवटाको सुनुवाई टेन्टकै इजलासमा भएको थियो । भदौ २४ गतेयता २७ वटा मुद्दा फस्र्यौट गरिएको छन्, जसमा टेन्टमा स्थापित इजलासले समेत १० मुद्दा फस्र्यौट गरेको थियो । 

विराटनगर महानगरपालिकाले अहिले आगजनीबाट सुरक्षित रहेको पुरानो भवनमा कार्यालयसहित कानुन शाखा सरेको छ । अहिले पनि न्यायिक समिति र इजलास कानुन शाखा रहेको कार्यकक्षमै गर्ने व्यवस्था मिलाइएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । 

अहिले इजलास भवनमा सरेको छ तर, पहिला जस्तो छुट्टै नभइ शाखाको कार्यकक्षमा छ । कानुन शाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा जम्मा मुद्दा संख्या १२५ रहेका छन् । जसमा नयाँ दर्ता भएका ७५ र दायित्व सरेर आएका ५० हुन् । चालु आर्थिक वर्षको चौमासिक प्रगति प्रतिवेदन अनुसार मिलापत्रबाट १२ वटा र निर्णयबाट ४२ मुद्दा गरी ५४ वटा को फछ्र्यौट गरिएको छ । चौमासिक प्रतिवेदन अनुसार अब ७१ मुद्दा बाँकी रहेका छन् । 

असहजताकाबीच समेत टेन्टमा न्यायिक समिति र इजलास स्थापना गरेर न्यायिक निरुपण सेवालाई निरन्तरता दिन सफल भएकोमा उपप्रमुख कार्कीले खुशी व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार चालु आर्थिक वर्षमा ४३ दशमलव २ प्रतिशत मुद्दा फस्र्यौट भइसकेको छ । प्रशासनिक रुपमा आपत परेपनि नागरिकका गुनासो स्थानीय सरकारसँग केन्द्रीत भइरहने बुझाईबाट इजलास स्थापना गरिएकोले प्रगति हासिल गर्न सकेको उहाँको भनाइ छ । 

‘भवन जलेपनि दैनिक कार्य गर्न मन जलाउनु हुन्नथ्यो भन्ने लागेर इजलास टेन्टमा खडा गरेर निरन्तर उजुरी लिने र इजलासबाट सुनवाई गर्ने काम गरेका हौं,’ उपप्रमुख कार्कीले भन्नुभयो, "तर, गोपनियता नहुने, सबैले इजलास चलिरहेको ठाउँमा जानु हुन्न भन्ने पनि नबुझ्ने समस्या देखिएको थियो ।" यद्यपी यी यस्ता कतिपय कुरासँग झन्झट मान्नुभन्दा आफ्नो काममा लाग्नु उचित हुने ठानेर काम गरेको उहाँको भनाइ छ । 

आफ्नो क्षेत्राधिकारमा भएका कामहरुलाई बढाउन टेन्टमै शाखाहरु खोलेको कार्कीको भनाइ छ । उहाँका अनुसार राजस्व महाशाखा, कानुन शाखा, सामाजिक विकास महाशाखालाई टेन्टमा स्थापना गरेर काम निरन्तर गरिएको थियो । पूर्वाधारतर्फको अनुगमनका काम समेत तिहारपछि गरेर जाँचपास गर्ने र भुक्तानी दिने प्रक्रिया थालिएको उहाँले जानकारी दिनुभयो । 

जेनजी आन्दोलनमा महानगरपालिकाका आगलागी हुँदा २३ करोड ३७ लाख ५८ हजार २३४ रुपिँया भौतिक क्षति भएको छ । जसमा महानगरपालिकाको प्रशासनिक भवनदेखि वडा नम्बर १ देखि १२ नम्बर र १९ नम्बर वडाको भवन समेत पर्दछ । जिन्सी सामाग्रीतर्फ स्काभेटर, शव बाहन, मोटरसाइकल, जेनेरेटर, कप्यूटर, फर्निचर, मसलन्द समेत गरेर ७५ करोड २५ लाख ६३ हजार ४८५ को क्षति भएको हो । 

सम्बन्धित समाचार