काठमाडौं– बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् ।
नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले गएराति अन्तरिम सरकार प्रमुखमा नियुक्तिको घोषणा गरेका हुन् ।
गएराति राष्ट्रपति, सेना प्रमुख र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।
यस अघि मंगलबार राष्ट्रपतिले संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खुला गरेका थिए ।
विद्यार्थी नेताहरूले सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पार्दै अन्तरिम सरकारको नेतृत्व गर्न युनुसलाई जोड दिएका थिए।
८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान संचालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।