राष्ट्रिय स्वाधीनताको सवालमा माथिल्लो कर्णाली जलविद्युत आयोजना

8k Shares

-लोकबहादुर रावत

यस मुलुकको एक उच्च उर्बर क्षमता रहेको आयोजना स्थल मात्र नभई पूरै जलाधार क्षेत्रमाथि अधिपत्य रहनेगरी कालो इतिहास रचिएको छ र, कौडीको भाउमा विदेशी कम्पनीलाई सुम्पिने काम भएकोछ ?

१.० परिचय

प्राकृतिक सम्पदाका महत्वपूर्ण निधिहरुमध्ये नदी अग्रस्थानमा रहने गरेका छन्। मानव सभ्यताको विकास नदीहरुकै वरिपरिबाट भएको इतिहासविद्हरुको दावी रहेको पाइन्छ। नेपालको भूमि भएर बग्ने मुख्य नदीहरूमा मेची (१२८५), कोशी (२६२१८), बाग्मती (३४२१), गण्डकी (३१८९७), राप्ती (६३६८), बबई (३३३५), कर्णाली (४३०१०) र महाकाली (४९५९) वर्ग किलोमिटर जलाधार क्षेत्र ओगटेका छन्।

विश्व मानचित्रमा शुद्ध पिउने पानीका श्रोतहरू कमी हुँदै गइरहेको विज्ञहरूले औल्याइ रहेका छन्। यो सानो मुलुकमा रहेको जलभण्डारले नेपाललाई जलश्रोतमा धनी बनाएको छ। बहुआयामीक महत्व रहेका यी जल सम्पदालाई देशबासीको हितमा अधिकतम उपयोग गर्ने चुनौती लामो समयदेखि रही आएको छ। उपलब्ध पानीको हरेक थोपालाई यसगरी देशको सम्पन्नता अभिन्न रूपमा दूरभविष्यसम्म अविछिन्न रहेको तथ्यमा कुनै नेपालीले दुईमत राख्दैनन् होला।

करिब ५०७ किलोमिटर लामो रहेका देशकै लामो, ३५.६८ प्रतिशत जलाधार क्षेत्र ओगटेको कर्णाली नदी राष्ट्रको अत्यन्तै महत्वपूर्ण सम्पदाको रूपमा रहिआएको छ। महाकाली, सेती, भेरी, कर्णाली र राप्ती अञ्चलका भू-भागलाई छिचोल्दै आएको यो नदी शुद्ध पानीको भण्डार पनि हो। सन् २०११ को राष्ट्रिय जनगणना अनुसार ५३,१४,७९१ जनसंख्या बसोबास गर्ने यो जलाधार क्षेत्र देश विकासको सूचाङ्कमा पछाडि रहेको छ।

रहेको नदीको उर्वर बहुआयमिक महत्व क्षमतालाई उपयोग गर्ने सवालमा जलधार क्षेत्रका आदिवासीहरूको जन्मसिद्ध अग्राधिकार कायम हुन सकेको छैन। नेपालको एकीकरणपछि केन्द्रीय शासकहरूले हरेक मामलामा उपेक्षित राख्दै आएको यो जलधार क्षेत्र गणतन्त्र आमगनसँगै फेरि पनि ठगिन पुगेको छ। वि.सं. २०६४ माघ १० गते मध्यराति देशलाई अध्यारोमा धकेलेर कर्णाली नदीको अधिपत्य भारतीय कम्पनीलाई सुम्पने काम भएको छ। यो देशका केही निहित स्वार्थ भएका कथित नेता, कमिसनमा चुर्लुम्म डुबेको नोकरशाही उच्च तहका कर्मचारीहरूको मिलोमत्तोमा घिनलाग्दो तरिकाबाट देशमाथि धात भएको छ। यस मुलुकको एक उच्च उर्वर क्षमता रहेको आयोजना स्थल मात्र नभई पूरै जलधार क्षेत्रमाथि अधिपत्य रहनेगरी कालो इतिहास रचिएको छ र कौडीको भाउमा विदेशी कम्पनीलाई सुम्पिने काम भएको छ। स्वाभिमानी देशभक्त नेपाली एवं जलधार क्षेत्रका सचेत नागरिकले त्यसैदिनदेखि यस राष्ट्रघाति कदमको विरोध र भण्डाफोर गर्दै आएका छन्। अहिले यसबारे सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ।

२. अन्तर्राष्ट्रिय कानून र स्थानिय अग्राधिकार मिचिएको सन्दर्भ

संयुक्त राष्ट्र संघको विशेषगरी ILO कन्वेन्सन १६९ ले स्थानिय अग्राधिकारलाई कायम गर्दै आदिवासीहरुको आफ्नो प्राकृतिक सम्पदामाथि पूर्ण स्वामित्व रहने सुनिश्चित गरेको छ। संसारभर प्राकृतिक स्रोत विकास तथा परिचालन गर्दा स्थानिय बासिन्दाहरुको आवश्यकतालाई प्राथमिकतामा राखी उनीहरुको पूर्ण सहमतिमा मात्र उपयोग गर्ने प्रचलन रही आएको छ। छिमेकी भारतमा प्राकृतिक स्रोत प्रयोग गर्दा स्रोत रहेको राज्यलाई उपयोगकर्ता राज्यले उपयुक्त मूल्य दिएर मात्र उपभोग गर्ने गर्दछन्। दक्षिण अफ्रिकाले लेसोथोलाई उसको पानी उपयोग गरेवापत प्रतिघनमिटरका आधारमा वार्षिक मूल्य भुक्तानी गर्ने गरेको छ। अन्य देशहरुमा यस्ता उदाहरण प्रशस्तै पाइन्छन्।

यति बेला देश संघीय संरचनामा जाँदैछ। भावी नेपालको संविधान कस्तो बनाउने निक्र्योल हुन बाँकी नै छ। प्रान्तीय अधिकारको बाँडफाँड तथा अग्राधिकार कसरी कायम गर्ने टुङ्गो पनि भइसकेको छैन। यस्ता यावत सवालको निष्कर्ष भई नसकेको अन्यौलपूर्ण घडीमा स्थानिय आदिवासीहरुको अग्राधिकार र सरोकारलाई कुनै वास्ता नगरी देशको एउटा हिस्सा कम्पनी मार्फत विदेशीको जिम्मा लगाउने काम भएको छ।

भारतीय कम्पनी GMR सँग गरिएको MOU को धारा ३६ र ३७ मा स्थानिय अग्राधिकारका अन्तर्राष्ट्रिय कानून र स्थापित मान्यता पूरै उल्लंघन गरिएको छ। माथिल्लो र तल्लो तटिय अधिकारको कुनै सीमा नतोकी पूरै जलाधार क्षेत्र सुम्पने काम भएको छ। सम्झौताको यो प्रावधान पूर्ण रूपमा लागू भएमा चीन तिब्बतको सिमाना हिल्सादेखि भारतको सिमाना कतर्नीयासम्म नदीको एक थोपा पानी प्रयोग गर्नु परेमा GMR को अनुमति लिनुपर्नेछ।

३. देशको प्रचलित कानूनको उल्लंघन

जब कुनै देश स्वतन्त्र सार्वभौम हुन्छ, उसले आफ्नो शासन व्यवस्था कायम राख्न, अमनचैन कायम गर्न र सबै नागरिकको हितमा नियम कानून बनाएर लागू गर्ने गर्दछ। यिनै नियम कानूनको पालना गर्दै रहेका नागरिकले अविछिन्न आफ्ना मौलिक अधिकार निर्भयतासाथ उपयोग गरिरहेको विश्व परिवेश हो। MOU को धारा ३८ मा गरिएको प्रावधानले नेपालको कानूनमाथि धावा बोलिरहेको छ। प्रचलित कानूनसँग बाझिएका कुनै पनि धाराले नेपालको कानूनलाई निष्क्रिय बनाउने उद्देश्य राखेको छ। यस प्रकारको व्यवस्थाले देशको सार्वभौमिकतालाई ओझेलमा पारिदिएको छ। यो MOU पूर्ण रूपमा पालना गरिएमा नेपालीले स्वतन्त्र देशको नागरिक भनेर दावा गर्ने ठाउँ नै नबच्नेछ। संयुक्त राष्ट्र संघको सदस्य रहेको भनिएको हाम्रो देशको नियम कानूनलाई मान्न बाध्य नहुने गरी ल्याप्चे लगाइएको MOU ले नेपालीको पहिचान समेत मेटाउने सक्ने घृणित प्रकारको कूचेष्टा गरेको छ।

आन्तरिक संविधानको धारा १५६ मा देशको दूरगामी महत्वका प्राकृतिक सम्पदाको व्यवस्थापन गर्नेबारे व्याख्या गरिएको छ। त्यसअनुसार प्राकृतिक स्रोतको सीमा पारि लैजाने प्रकारका सन्धी सम्झौता वा अनुबन्ध गर्नुपरेमा संसदबाट अनुमोदन गराउनु पर्ने हुन्छ। यो व्यवस्था छल्नको लागि घुमाउरो बाटोबाट कम्पनी ऐन अन्तर्गत पारि कानून मिचेर विदेशीलाई सुम्पने काम भएको छ। देशको संविधानले गरेको व्यवस्था छलेर मुल कानूनलाई चुनौती दिँदै गरिएको MOU ले देशघातको सीमा पार गरेको छ।

४. आयोजनाको उर्बर क्षमतामाथि घात
 
सन् १९८९ मा हिमालय पावर कन्सल्टेन्टले गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार त्यसबेलाका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक डा. आनन्दबहादुर थापाले यो आयोजना स्थलको अधिकतम बिजुली उत्पादन गर्ने क्षमता ४१८० मेगावाट रहेको दावा गरेका छन्। सन् १९९२ मा दिनेशलाल श्रेष्ठ र गुणनाथ पौड्यालको संयुक्त अध्ययन सोधपत्रमा यस स्थलको अधिकतम बिजुली उत्पादन क्षमता ५४०० मेगावाट रहेको प्रतिवेदन अगाडि ल्याएका छन्। यी तथ्यहरूले यस आयोजना स्थलको वास्तविक उत्पादन क्षमता एकिन रूपमा मापन भइनसकेको भन्ने जनाउँदछ। वास्तविकतालाई एकातिर पन्छाएर एक्कासी ३०० मेगावाट भनेर रातारात MOU गर्ने काम गरियो। व्यापक जनदबाव हुन थालेपछि ९०० मेगावाट निकाल्ने भनेर प्रचार गरिएको छ। तर, GMR ले कति मेगावाट निकाल्न लागेको छ तथ्य कसैलाई पनि जानकारी भएको पाइदैन। देशलाई अध्यारोबाट मुक्ति दिलाउँदै औद्योगिक दिशातिर लैजाने सम्मको बिजुली उत्पादन गर्न सक्ने क्षमता राख्ने उर्बर शक्तिको आयोजना स्थललाई बन्धक बनाउने काम MOU ले गरेको छ। यसलाई जस्ताको तस्तै कार्यान्वयनमा ल्याउने हो भने देशमा लोडसेडिङ स्थायी रहने छ नै, मुलुकमा रहेका अन्य उच्च उत्पादन क्षमतावान आयोजना स्थलहरूको अधिकतम लाभ लिन पाउने आत्मनिर्णयको अधिकार सदाकालागि गुमेर औपनिवेशिक बन्धनमा बाँधिनु पर्ने अवस्था आइलाग्नेछ।

५. उर्जा संकट समाधानको दृष्टिमा
 
सुख्खा मौसमको अभावलाई स्वाभाविक रुपमा लिएका उपभोक्तहरूले वर्षाको भेलामा पनि लोडसेडिङमा बस्नुपर्ने देशको अवस्था विद्यमान छ। कहाली लाग्दो देशको उर्जा संकटलाई कुनै वास्ता नगरी अत्यन्तै सस्तो उत्पादन लागत रहेको आयोजनालाई निर्यातमुखी बनाइएको छ। नेपाल विद्युत प्राधिकरणले सन् २०१३/१४ सम्म देशमा १२७१ मेगावाट विजुली आवश्यक पर्ने तथ्याङ्क निकै पहिले प्रकाशित गरेको थियो। तथापि, अहिलेसम्मको अधिकतम उत्पादीत विजुली ७०० मेगावाटको सीमा पनि पार गर्न नसकेको अवस्था छ।

२५ करोड डलर अनुमानित लागतमा ३०० मेगावाट निकाल्दा समेत प्रतिकिलोवाट ८३३ डलर मात्र उत्पादन मूल्य पर्ने विजुली ९०० मेगावाटसम्म पुग्दा अझ घट्ने देखिन्छ। देशमा प्रतिदिन बढिरहेको उर्जा समस्याको दीर्घकालीन समाधान गर्न यस्ता आयोजना देशभित्रकै पूँजी परिचालन गरी आन्तरिक खपतको लक्ष्यका साथ निर्माण गर्नु पर्ने अहिलेको आवश्यकता हो। पेट्रोलियम पदार्थको दैनिक हाहाकार भइरहँदा पनि डिजलमा इन्धन आधारित थर्मल प्लान्टको योजना अघि बढाउने, विदेशबाट मागेर विजुलीको गर्जो टार्ने खालका उटपट्याङ र केटौली कामहरू राज्य संचालकहरूबाट भइरहेका छन्।

अहिलेसम्मको अनुमानित आँकडाले करिब ३०,००० मेगावाट उत्पादन क्षमता रहेका जलाधार क्षेत्रको स्वामित्व विदेशीको हातमा सुम्पने कदमले देशलाई दीर्घकालीन रुपमा उर्जा संकटको भूमरिमा राख्ने अक्षम्य अपराध भएको छ।
 
६. उत्पादन अनुगमन गर्न नपाइने
 
साधारणतया: देशको सिमानाबाट पार गरेर बेचविखन गरी निकासी र आवश्यक पर्ने मालवस्तु पैठारी गर्दा यसको नापजाँच गरी परिमाण र गुणस्तरको अभिलेख राख्ने प्रचलन प्राचीनकालदेखि चल्दै आएको हो। चाहे अन्तरदेशीय राज्यबीचको होस् वा अन्तर्राष्ट्रिय सिमाना, सबैजसो देशले परिपालन गर्दै आएको विधि र मान्यता यही नै हो। MOU को धारा ४ मा विद्युत गृहबाट उत्पादित बिजुली सिधै प्रसारण लाइनबाट सिमाना पारि लैजाने भनिएको छ। वास्तविक रूपमा कति बिजुली उत्पादन हुने हो र नेपालको तर्फबाट त्यसको अनुगमन कसले गर्ने भन्ने कुनै स्पष्ट व्यवस्था गरिएको छैन। नेपाललाई दिने भनिएको बिजुलीको मात्रा कम्पनीको तर्कमा १२ प्रतिशत भनेको यति नै हो भनिदिए कतै प्रश्न उठाउन पाइने छैन।
यस आयोजनामा गरिएको सम्झौतामा अन्तर्राष्ट्रिय सिमानापार गरिने लेनदेनको विधि–प्रचलन कुनै पनि अनुसरण गरिएको पाइँदैन। एक अधीनस्थ इलाकाबाट आफ्नो इच्छा अनुसार मालवस्तु उठाई कब्जामा लिने महाभारतमा चित्रित कौरवकालीन शासन व्यवस्थाको प्रत्यक्ष झल्को यस MOU ले दिएको छ।

७. नाफारहित उर्जा व्यापार

कतिपय विश्लेषकहरूले यो MOU लाई ठूलो उपलब्धिमूलक फाइदा रहेको उर्जा व्यापारको रूपमा व्याख्या गरेका पाइन्छ। देशमा अहिलेसम्म निर्माण भएका जलविद्युत गृहबाट उत्पादित विद्युतको लागत मूल्य मध्यमा सस्तो भनेको चिलिमे आयोजना हो। करिब ३ किलोमिटर सुरुमार्ग रहेको यो आयोजनाको उत्पादन लागत प्रति किलोवाट १५०० डलर रहेको छ। जबकि यस माथिल्लो कर्णाली आयोजनाको लागत मूल्य प्रतिकिलोवाट ८३३ डलरभन्दा पनि कम रहेन आंकलन गरिएको छ। जसले गर्दा प्रति युनिट रु. २ भन्दा कम नै पर्न आउँछ। हाल भारतबाट पैठारी गरिने बिजुलीको मूल्य सिमानासम्म पुग्दा रु. १०.७२ पुग्छ । यस आयोजनाको अधिकतम उत्पादन लागत मूल्य भन्दा ५.३६ गुना महँगो विद्युत आयात गरिने व्यापारमा कुन हिसाबले फाइदाको भनेर विश्लेषण गरिदै छ? देशका आम नागरिकलाई गुमराहमा पारि दलाली प्रवृतिका चरित्र भएका तथाकथित बुद्धिजीवीमा गनिनेहरूले व्याख्या गरीएको यस्तो व्यापार विश्लेषणबाट मुलुकलाई झन गरीबी तिर धकेलीरहेको तथ्य आज कसैले लुकाउन नसक्ने गरी छर्लङ्ग भै सकेको छ। यो भन्दा ठूलो राष्ट्र प्रति घोर गद्दारी अरु के हुन सक्ला र कहाँ खोज्न जाने?

८. राज्यले पाउने करमाथि छलि

यतिखेर नेपालले भारतबाट आयात गरिने विजुलीको निर्यातकर भारु २ तिर्दछ। MOU को धारा ३ मा आयोजनाबाट उत्पादित विजुलीको निर्यात कर ०.००५ प्रतिशत निर्धारण गरिदिएको छ। विद्युत गृहबाट उत्पादित विजुलीको मात्रा नाप्न पाउने अधिकार नेपाललाई रहेको छैन। कम्पनीले दिएको तथ्याङ्कको आधारमा उपलब्ध हिसाबमा नै चित्त बुझाउनु पर्नेछ। वास्तविक उत्पादित परिमाणको जानकारी लिन नपाईने, उत्पादन लागत निकै कम हुने र कायम गरिएको करको दरसमेत अति न्यून रहेको छ। यस्ता प्रावधानले देशलाई चौतर्फी ठगहरूको जालोमा जकडाई दिएको छ। स्वतन्त्र राष्ट्रले आफ्नो सार्वभौम सिमाभित्रका प्राकृतिक स्रोत उपयोग गर्दा न्यायपूर्ण रूपमा निर्धारण गरी लिन पाउने उचित करबाट समेत राज्यलाई बञ्चित गराइएको छ। यो एक किसिमको औपनिवेशिक दोहन र शोषणभन्दा कुनै मानेमा कम छैन।

९. जोखिमपूर्ण राष्ट्रिय सुरक्षा

सन् १९५० को दशकमा नेपालको सिमाना भित्र बनेको कोशीबाँधमा सुरक्षाको जिम्मा भारतीय पक्षको रहिरहेको छ। १९८० ताका १०८०० मेगावाट बिजुली उत्पादन क्षमता सहितको बहुउद्देश्यीय कर्णाली चिसापानी आयोजना बनाउने अवधारणा ल्याइयो र निर्माणका लागि आवश्यक जनशक्तिको रूपमा नेपाली विद्यार्थीलाई छात्रवृतिमा इन्जिनियरिङ विषयमा अध्ययन गराइयो। जब स्थलगत निर्माण प्रक्रिया थालनीको समय आयो, भारतीय पक्षबाट आयोजनाको सुरक्षा आफैले गर्नुपर्ने प्रस्ताव ल्याएपछि तत्कालीन पञ्चायती सरकारले योजना स्थगन गरेको घटना सर्वविदितै छ।

पूर्ण तटीय स्वामित्वमा अधिपत्य रहने र नेपालको प्रचलित नियम कानूनलाई मान्न बाध्य नहुने गरी गरिएको MOU का आधारमा भोलि भारतीय पक्षबाट अवश्य त्यही सुरक्षा मामला अगाडि सारिने छ। यसरी हेर्दा सहजै रूपमा भारतीय सुरक्षा कर्मी परिचालन गर्ने अनुकूलता GMR लाई रहन जानेछ। अन्तर्राष्ट्रिय सिमानाबाट देशको मध्यभाग भित्र पसी त्यही रहेर विदेशी सुरक्षा कर्मीले गतिविधि गर्ने वातावरण बन्न गएमा नेपालको सामरिक अवस्था कहाँ पुग्ला? युद्ध? क्षेत्रीय शक्तिराष्ट्रबीच रहेको देशले अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कसरी राख्ला? यो जटिलताको प्रतिफल नेपालले के कस्तो भोग्नु र बेहोर्नु पर्ने हो त्यति सरलै किटान हुन सकिने देखिँदैन।

१०. नेपाललाई असफल बनाउने श्रृंखलावद्ध योजना
 
भारतसँगको वैदेशिक व्यापारमा लामो समयदेखि नेपाल घाटामा रहदै आएको छ। देशमा उपलब्ध खनीज, जडीबुटी, अन्य वन पैदावार लगायत वस्तुहरू कच्चा पदार्थको अवस्थामा अति सस्तोमा निकासी गर्नुपर्ने र तयारी सामानहरू पैठारी गर्दा तिर्नुपर्ने महँगो मूल्य नै व्यापार असन्तुलनको मुख्य कडी हो। कच्चामाल प्रसोधनका लागि आवश्यक पर्ने उर्जा जुन आफ्नै जलविद्युतबाट प्राप्त हुने हो, यसलाई सस्तोमा भारततर्फ निकासी गर्दै जाने हो भने देशमा कहिल्यै औद्योगिकरण हुने छैन। विगत कालदेखि विभिन्न तरिकाबाट नेपालका नदीनाला, वनजंगल, खानीज भण्डारहरूमा अनेक तिकडम गरी नियन्त्रणमा लिने खालका संधि, सम्झौता, समझदारी जस्तो रूपमा भए पनि नेपालको हितविपरीत हुँदै आएका छन्। यस्ता गतिविधिहरू नै नेपालको विकास र प्रगतिमा बाधक बनेका छन्।

एकपछि अर्को गर्दै योजनावद्ध दीर्घकालसम्म यो देशका सबैभन्दा महत्वपूर्ण स्रोतहरू माथि नियन्त्रण कायम राख्ने भारतीय अभिष्टले अघिल्ला शताब्दिहरूमा गरीएका औपनिवेशिक शेषहरू हुन्। छिमेकी देश भएर पनि नेपाललाई कहिल्यै माथि उठ्न नदिने, विकास र उन्नति भएको हेर्न नचाहने दक्षिणतर्फको हाम्रो छिमेकी मुलुकका शासकहरूको दृष्टिकोण कुनै रूपमा मैत्रीपूर्ण देखिँदैन। यस रवैयाले नेपाललाई सदाका लागि आफैं केही गर्न नसक्ने, अपाङ्ग मागेर मात्र देशको गर्जो टार्ने भिखारी र आफ्नो स्वामित्वमा केही नरहेको कंगाल बाहेक अरु केही बन्न दिने छैन।

(लेखक कर्णाली जलाधार संरक्षण समाजका अध्यक्ष हुन्)
सम्बन्धित समाचार